कानुनभन्दा माथि कोही हुँदैन : प्रधानमन्त्री

सोमबार, ७ जेठ, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक नेतृत्व कानुनभन्दा माथि हुन नसक्ने बताएका छन्।  

विश्वासको मत लिनुपूर्व प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासनका क्षेत्रमा जनतामा आशा जागेको र कानुनको शासन स्थापित हुँदै गएको बताएका हुन्। 

‘अहिले सुशासनका क्षेत्रमा आशा जागेको छ । पछिल्ला दिनमा लोकतन्त्र कता–कता नेतातन्त्रजस्तो देखिँदै गएको थियो,’ प्रधानन्त्री प्रचण्डले भने, ‘राजनीतिक नेतृत्व कानुनभन्दा माथि भएको डरलाग्दो वैचारिकी बनिरहेको थियो । त्यसले समग्र व्यवस्थामाथि नै अविश्वास र घृणा बढाइरहेको थियो । तर, भुटानी शरणार्थी, ललितानिवास, बाँसबारी, बाल मन्दिर, सुनकाण्डलगायतका प्रकरणमा सरकारको निर्भीक र निष्पक्ष कारबाहीले जनतामा लोकतन्त्र र त्यसको शक्तिप्रति ठूलो भरोसा जागेको छ।’

सरकारले सबैजसो मोर्चामा सार्थक उपलब्धि र गौरव हासिल गर्दागर्दै पनि जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले फेरि देशमा देखिएको चुनौतीलाई सम्बोधन गर्न सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए। 

प्रधानमन्त्री प्रचण्डले भने, ‘सुरुदेखिको निरन्तर सहयात्राका लागि जसपा नेपालप्रति आभारी छु । सरकारलाई समर्थन वा विरोधको उसको राजनीतिक अधिकारको पनि म सम्मान गर्छु । तर, राष्ट्रका चुनौतीहरूको सामना गर्न फेरि पनि मिलेर अगाडि बढ्न आग्रह गर्छु।’

नीति तथा कार्यक्रम पेस गरिसक्नुभएको र बजेटको छलफल चलिरहेको अवस्थामा आफूले सरकारका दीर्घकालीन प्रतिबद्धताहरू सम्मानित संसद्को साथ र सहयोगविना पूरा हुन नसक्ने बताए।  

‘सार्वभौम संसद्को लामो समय लिन चाहन्नँ । यत्ति भन्छु– प्रधानमन्त्रीका रूपमा मैले संसद्को पहिलो सम्बोधनमै प्रतिबद्धता जनाएको थिएँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘म आज सरकारका उपलब्धिहरूको रिपोर्ट कार्डकै आधारमा यो सम्मानित संसद्को विश्वासको मत माग्दछु।’

सोह्रौँ आयोजनाका लक्ष्यहरू हासिल गर्न संसद् र सरकारले धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारका दीर्घकालीन प्रतिबद्धताहरू सम्मानित संसद्को साथ र सहयोगविना पूरा हुन नसक्ने बताए। 

व्यावहारिक र नीतिगत सुधारमा सरकारले लिएको अग्रसरताले लगानीकर्तामा एकदमै सकारात्मक प्रभाव परेको उल्लेख गर्दै प्रधानमन्त्रीले कतारका राजा, जापानका विदेशमन्त्रीलगायतका उच्चस्तरीय भ्रमणबाट राष्ट्रको प्रतिष्ठा र अन्तर्राष्ट्रिय आयाम फराकिलो भएको बताए।  
 

सुझावित समाचार