सरसफाइ अभियानमा धनगढीका विद्यार्थी, उपमहानगरबाटै सहजकर्ता खटाएर अभिमुखीकरण

आइतबार, ६ जेठ, २०८१
डिजिटल संस्करण

धनगढी उपमहानगरपालिका–१३ मा रहेको भगवती आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीले गत शुक्रबार विद्यालय र वरिपरिको क्षेत्रमा सरसफाइ गरे। यो विद्यालयले विद्यार्थीको सहभागितामा हरेक शुक्रबार यसैगरी सरसफाइ गर्दै आएको छ। नियमित रूपमा सरसफाइ गरिन थालेपछि विद्यालय वरिपरि सफा मात्र भएको छैन, विद्यार्थीमा पनि सरसफाइप्रति जागरुकता बढेको छ।

‘विद्यार्थीलाई सानै उमेरदेखि सरसफाइप्रति सचेत गराउन उनीहरूकै सहभागितामा सरसफाइ कार्यक्रम गरिरहेका छौँ,’ प्रधानाध्यापक रामकृष्ण रानाले भने, ‘यसले विद्यार्थीमार्फत अभिभावकमा समेत जथाभावी फोहोर फाल्नुहुँदैन भन्ने जागरुकता बढ्न थालेको छ।’ विद्यार्थीले अलग-अलग संकलन गर्ने कुहिने र नकुहिने फोहोर उपमहानगरले लग्छ।  
 
विद्यालयमा पहिले नियमित रूपमा सरसफाइ गरिन्थेन। उपमहानगरको आग्रहमा दुई महिनायता हरेक शुक्रबार विद्यालयको करिब पाँच सय मिटर वरिपरिसम्म सरसफाइ गर्न थालेको प्रधानाध्यापक रानाले बताए। उनका अनुसार सरसफाइ गर्न विद्यार्थीको सहभागितामा तीनवटा समिति गठनसमेत गरिएका छन्। अहिले विद्यार्थी आफैँ सरसफाइमा अग्रसर हुन थालेका उनले बताए।

धनगढीका अधिकांश विद्यालयहरूले अहिले यसैगरी सरसफाइ कार्यक्रम गरिरहेका छन्। नगरलाई सफा र स्वच्छ बनाउने उद्देश्यसहित उपमहानगरले ‘हाम्रो धनगढी, सफा धनगढी’ अभियान सुरु गरेपछि विद्यालयहरू पनि नियमित सरसफाइ कार्यक्रम गर्न थालेका हुन्। विद्यालयमा अभियान सञ्चालन गर्न नगरले सरसफाइ सहजकर्ता खटाएको छ। सरसफाइ सहजकर्ताले विद्यार्थीलाई सरसफाइप्रति सचेत गराउन विद्यालयहरूमा सरसफाइसम्बन्धी अभिमुखीकरण सञ्चालन गर्ने गर्छन्।

फोहोर बढी उत्पादन हुने सहरी क्षेत्रका नौवटा वडालाई बढी केन्द्रित गरेर सरसफाइ अभियान सञ्चालन भइरहेको उपमहानगरको वातावरण, खानेपानी तथा सरसफाइ व्यवस्थापन शाखा प्रमुख अशोक अवस्थीले जानकारी दिए। उपमहानगरको आग्रहमा यी वडाका सामुदायिक र निजी गरी सयवटा विद्यालय तथा क्याम्पसले विद्यार्थीको सहभागितामा नियमित रूपमा सरसफाइ कार्य सुरु गरिरहेको उनले बताए। 

‘उपमहानगरको आग्रहमा नगरका अधिकांश विद्यालय तथा क्याम्पस सरसफाइ अभियानमा जोडिएका छन्,’ अवस्थीले भने, ‘विद्यालयसँगै समुदायमा पनि यो अभियान चलाइरहेका छौँ।’ विद्यालयमा भइरहेका कार्यक्रमले सरसफाइप्रति विद्यार्थीमा र उनीहरूमार्फत अभिभावकमा सचेतना बढ्ने उनले बताए। सरसफाइ अभियानअन्तर्गत हरेक विद्यालयमा शिक्षक र विद्यार्थी सम्मिलित सरसफाइ समिति गठन गरिनुका साथै सरसफाइबारे प्रशिक्षणहरू दिने गरिएको अवस्थीले जानकारी दिए।

सहरी क्षेत्रबाहेकका वडामा पनि सामाजिक परिचालकमार्फत विद्यालय तथा टोलमा सरसफाइ कार्य भइरहेको उपमहानगरले जनाएको छ। नगरले सरसफाइ अभियान सञ्चालन गरेपछि विद्यालयहरूले स्वफूर्त रूपमा पनि नियमित सरसफाइ कार्यक्रम गर्न थालेका छन्। विद्यालयका सरसफाइ कार्यक्रममा नगर प्रमुख, उपप्रमुखलगायत जनप्रतिनिधिसमेत सहभागी भएर उत्प्रेरित गर्ने गरेका छन्।

विद्यालयहरूमा नियमित हुन थालेका सरसफाइ कार्यक्रमले विद्यालयको वातावरण सफा हुनुका साथै समुदायमा समेत सकारात्मक सन्देश गइरहेको पञ्चोदय माविका प्रधानाध्यापक हरीशकुमार ओझाले बताए। विद्यार्थीमार्फत व्यक्ति र समुदायलाई सरसफाइप्रति जागरुकता बढाउन सकिने उनले बताए।

‘विद्यार्थीले विद्यालयपरिसर र वरपर समुदायमा सरसफाइ गर्दा स्थानीयले पनि सरसफाइ अभियानमा भाग लिने गरेको देखियो,’ ओझाले भने, ‘सरसफाइ अभियानले सबैमा सकारात्मक सन्देश दिन सहयोग पुर्याएको छ।’ अभियानमा हालसम्म करिब ५० हजार विद्यार्थी जोडिएको उपमहानगरको दाबी छ। 
 
सरसफाइप्रति नागरिकमा सचेतना बढाएर नगरलाई सफा र स्वच्छ राख्न ‘हाम्रो धनगढी, सफा धनगढी’ अभियान सुरु गरिएको नगर प्रमुख गोपाल हमालले बताए। नगरका सबैजसो विद्यालय र सबैजसो टोलबस्तीको सहभागितामा सरसफाइ अभियान सञ्चालन भइरहेको उनले बताए। अभियानले सरसफाइप्रति नागरिकमा जागरुकता ल्याइरहेको नगर प्रमुख हमालले दाबी गरे।

‘नागरिक सचेत नहुँदासम्म उपमहानगरले जति सरसफाइ गरे पनि नगरलाई सफा राख्न सक्दैन,’ उनले भने, ‘नगर सफा राख्न नागरिक पनि सचेत हुनुपर्छ भनेर सरसफाइप्रति सचेतना अभियान नै चलाइरहेका छौँ।’ जथाभावी फोहोर फाल्ने प्रवृतिले व्यवस्थापनमा समेत समस्या हुने गरेको उनले बताए। अभियानमा विद्यालय, सामाजिक संघसंस्था, टोलविकास समितिलगायत स्थानीयको उत्साहजनक सहभागिता देखिएको छ। 

फोहोरमैला व्यवस्थापन केन्द्र नहुँदा उपमहानगरलाई संकलित फोहोरको व्यवस्थापनमा समस्या छ। उपमहानगरले संकलित फोहोरमध्ये केही मात्र वर्गीकरण गरेर बिक्रीसमेत गर्न थालेको छ। अहिले घरबाटै कुहिने र नहुकिने फेहोर अलग छुट्याएर संकलन गर्न थालिएको छ।

सम्पादकको रोजाइ

सुझावित समाचार