डुवाना र एलेक्जेन्डरले पेरिस ओलम्पिक खेल्ने

आइतबार, ६ जेठ, २०८१
डिजिटल संस्करण

युनिभर्सियालिटी कोटामा अहिलेसम्म नेपालबाट पाँच खेलाडीले पेरिस ओलम्पिक– २०२४ प्रतियोगितामा स्थान पक्का गरेका छन् 

नेपालका पौडीवाज डुवाना लामा र एलेक्जेन्डर शाहले पेरिस ओलम्पिक २०२४ प्रतियोगिता खेल्ने पक्का गरेका छन् । लामा र शाह ओलम्पिकअन्तर्गत युनिभर्सियालिटी कोटामा छनोट भएका हुन् । पौडीका दुवै खेलाडीले २६ जुलाई देखि ११ अगस्टसम्म पेरिसमा हुने ओलम्पिकमा आ–आफ्नो इभेन्ट्समा प्रतिस्पर्धा गर्नेछन् । अहिलेसम्म नेपालबाट ब्याडमिन्टन, टेबलटेनिस र एथलेटिक्सका खेलाडीले पेरिस ओलम्पिक खेल्ने टिकट पक्का गरिसकेका छन् । 

ब्याडमिन्टनका प्रिन्स दाहाल र एथलेटिक्सकी सन्तोषी श्रेष्ठ युनिभर्सियालिटी कोटामै छनोट भएका हुन् । टेबलटेनिसका स्यान्टु श्रेष्ठले छनोट चरण पार गर्दै ओलम्पिकमा स्थान सुरक्षित गरेका हुन् । सम्बन्धित संघले सिफारिस गरेका खेलाडीहरूको नाम आयोजक राष्ट्रको ओलम्पिक कमिटीमा नेपाल ओलम्पिक कमिटी (एनओसी)ले पठाएको थियो । सिफारिस भएका खेलाडी नै युनिभर्सियालिटी कोटाको माध्यमबाट पेरिस ओलम्पिक खेल्न अवसर पाएको एनओसीले जनाएको छ ।

आइओसीले आफ्नोमातहतमा रहेका एनओसीलाई सन् २००४ को एथेन्स ओलम्पिकदेखि युनिभर्सियालिटी कोटा दिने गरेको हो । छनोट चरणमा असफल भएपछि राम्रो वरीयता तथा उत्कृष्ट प्रदर्शनका आधारमा पनि खेलाडी युनिभर्सियालिटी कोटाको माध्यमबाटै ओलम्पिक प्रतिस्पर्धा गर्न अवसर पाउने गरेको नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्यले नयाँ पत्रिकालाई बताएका छन् । 

‘कतिपय अवस्थामा छनोट प्रतियोगितामा असफल भएका खेलाडी पनि राम्रो वरीयता प्राप्त गर्दा युनिभर्सियालिटी कोटाको माध्यमबाट ओलम्पिक खेल्ने सपना पूरा गर्छन्,’ उनले भने । नेपालको ओलम्पिक इतिहासमा छनोट चरण पार गरी ओलम्पिक खेल्ने पहिलो खेलाडी तेक्वान्दोकी संगीना वैद्य हुन् । उनले छनोट चरण पार गर्दै सन् २००४ को एथेन्स ओलम्पिक खेलेकी थिइन् । त्यसपछि तेक्वान्दोकै दीपक विष्ट छनोट चरणको माध्यमबाट ओलम्पिक खेल्ने दोस्रो नेपाली खेलाडी हुन् । 

उनले सन् २००८ मा बेइजिङ ओलम्पिक खेलेका थिए । समग्रमा टेबलटेनिसका स्यान्टु छनोट खेलबाट ओलम्पिकमा स्थान पक्का गर्ने तेस्रो नेपाली खेलाडी बनेका छन् । टेबलटेनिसका इतिहासमा ओलम्पिक खेल्ने उनी पहिलो खेलाडी हुन् । 

अब पाँच खेलको बाँकी
पेरिस ओलम्पिकमा युनिभर्सियालिटी कोटाको माध्यमबाट छनोट हुने प्रावधानमा अब नेपालका पाँच खेल बाँकी छन् । भारोत्तोलन बक्सिङ, सुटिङ, सुटिङ र गल्फको कोटा बाँकी रहेको एनओसीले जनाएको छ । ओलम्पिक खेलमा आबद्ध खेलको विश्वव्यापी छनोट प्रतियोगिता भइरहेको छ । प्रतियोगिता सकिएलगत्तै आइओसीले युनिभर्सियालाटी कोटामा परेका खेलाडीहरूको नाम सार्वजनिक गर्नेछन् । आइओसीले सम्वन्धित खेलका एनओसीलाई यसको जानकारी दिने गर्छ । ‘अहिले पेरिस ओलम्पिकको छनोट चलिरहेको छ, प्रतियोगिता सकेपछि युनिभर्सियालिटी कोटामा छनोट भएका खेलाडी घोषणा हुनेछ,’ एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक वैद्यले भने । 

ओलम्पिक छात्रवृत्तिमा १० खेलाडी
गत वर्षको साउनमा पेरिस ओलम्पिकको तयारी तथा छनोटमा राम्रो नतिजा निकाल्न नेपालका १० खेलका १० खेलाडीले ओलम्पिक छात्रवृत्तिमा पाएका थिए । सम्बन्धित खेल संघको सिफारिसमा नेपाल ओलम्पिक कमिटीले ती खेलाडीलाई छनोट गरेर अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले स्वीकृत गरेको हो । छात्रवृत्तिको लक्ष्य ओलम्पिकमा छनोट रहनेछ । टेबलटेनिसका संयोग कपाली (व्यक्तिगत), फेन्सिङका पायस योञ्जन (साबर), पौडीका नासिर याहा हुसेन (दुई सय मिटर फ्री स्टाइल), ब्याडमिन्टनका प्रिन्स दाहाल (व्यक्तिगत), जुडोकी मनिता श्रेष्ठ प्रधान (५६ केजी मुनि), सुटिङकी सुस्मिता नेपाल (१० मिटर र एयर राइफल), तेक्वान्दोकी युनिसिया राई (४९ केजीमुनि), डान्स स्पोर्टस्का दीपक लामा (बी ब्वाइङ), गल्फका सुभाष तामाङ (व्यक्तिगत) र भारोत्तोलनका सागर भण्डारी (१०९ केजी मुनि)ले ओलम्पिक छात्रवृत्ति पाउँदै प्रशिक्षण सुरु गरेका थिए । 

यी खेलाडीमध्ये टेबलटेनिसका स्यान्टुले छनोट चरणबाट ओलम्पिक खेल्ने पक्का गरिसके । छात्रवृत्तिअन्तर्गत प्रत्येक खेलाडीले मासिक सात सय ५० डलर प्राप्त गर्नेछन् । यो ओलम्पिकको अन्तिम छनोटसम्म कायम रहनेछ । छनोटमा सफल रहे ओलम्पिक प्रतियोगितासम्म नै छात्रवृत्ति कायम हुनेछ । ओलम्पिक कमिटीले प्रदान गर्ने रकम प्रशिक्षण, अन्तर्राष्ट्रिय सहभागिता, खेल सामग्री, बिमा, स्वास्थ्य परीक्षणदेखि अन्य तयारीका लागि चाहिने सबै प्रक्रियामा खर्च गरिनेछ । ‘छात्रवृत्तिको मुख्य लक्ष्य ओलम्पिक छनोट रहेको छ र यसले खेलाडीलाई ओलम्पिक छनोटको तयारीमा सहयोग छ,’ वैद्यले भने । 

पारा ओलम्पिकमा पलेशा
पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पेरिस ओलम्पिक खेल्ने स्थान पक्का गरेकी थिइन् । उनले चीनमा भएको एसियन छनोटमा पलेशाले के–४४ अन्तर्गत महिला ५७ केजीमुनि तौल समूहमा स्वर्ण जित्दै पेरिसमा आयोजना हुने पारा ओलम्पिकमा स्थान पक्का गरेकी थिइन् । पलेशाले फाइनलमा इरानी खेलाडी लेल्ला मिर्जाईलाई ५–४ ले हराउँदै स्थान सुरक्षित गरेकी थिइन् ।

त्यसअघि पलेशाले सेमिफाइनलमा उज्वेकिस्तानकी खेलाडी करिमा मेलिकुजिएभालाई १८–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन् । यससँगै पलेशा छनोट चरण पार गरेर पारा ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी बनिन् । यसअघि सन् २०२० मा भएको टोकियो पारा ओलम्पिकमा पलेशासँग अनुभव छ । पलेशाले सन् २०२२ चीनमा सम्पन्न पारा एसियाली खेलकुदमा कांस्य पदक जितेकी थिइन् ।

सुझावित समाचार