बागमतीमा विशेषाधिकार समिति गठन, संसदीय समितिको संख्या ६ पुग्यो

शनिबार, ५ जेठ, २०८१
डिजिटल संस्करण

बागमती प्रदेश सभामा प्रदेश विशेषाधिकार समिति गठन गरिएको छ। शनिबार दिउँसो बसेको प्रदेश सभा बैठकले प्रदेश विशेषाधिकार समिति गठन गरेको हो। यससँगै बागमती प्रदेश सभामा समितिको संख्या ६ पुगेको छ।

प्रदेश सभा बैठकमा माओवादी केन्द्रका मुख्य सचेतक रत्नप्रसाद ढकालले नेपालको संविधानको धारा १९३ तथा प्रदेश सभा नियमावली २०७४ को नियम १६७ को उपनियम १ बमोजिम विशेषाधिकार समिति गठन गर्न बैठकमा गरेको प्रस्तावलाई निर्णयार्थ प्रस्ताव प्रस्तुत गरेका थिए।

उनको प्रस्तावमा कांग्रेसका प्रमुख सचेतक गोविन्द लम्साल, एमालेका मधुसुदन पौडेल, राप्रपाकी कुमारी तामाङ र एकीकृत समाजवादीका कृष्णप्रसाद शर्मा खनालले समर्थन गरेका थिए।

प्रदेश सभाका सभामुख भुवन पाठकले विशेषाधिकार समितिको सदस्यहरूमा कृष्णप्रसाद शर्मा खनाल, कृष्णप्रसाद सिलवाल, वीरबहादुर तामाङ, गोविन्द लम्साल, जयराम थापा, देवेन्द्र श्रेष्ठ, धनेश्वरी प्रजापति, प्रभात तामाङ, बिन्दु श्रेष्ठ, मायादेवी शर्मा, रत्नप्रसाद ढकाल, राजु विष्ट, रामकृष्ण चित्रकार, सुस्पा भुजेल न्यौपाने, सरिता खड्गी, सुना परियार, सुरेन्द्रराज गोसाईंको नाम प्रस्ताव गरेकोमा बैठकले सर्वसम्मत अनुमोदन गरको छ।

यसैगरी, बैठकमा सभामुख पाठकले प्रदेश सभा नियमावली, २०७४ को नियम १५० बमोजिम प्रदेश मामिला समितिमा रहेका आनन्द श्रेष्ठ र उद्योग पर्यटन तथा वातावरण समितिमा रहेका प्रेमभक्त महर्जनलाई हेरफेर गर्न गरेको प्रस्ताव पनि बैठकले अनुमोदन गरेको छ।

प्रदेश सभाको अर्को बैठक आइतबार बिहान ११ बजे बस्ने गरी समय तोकिएको छ।

सुझावित समाचार