महिला क्रिकेटको फाइनलमा सुदूरपश्चिम प्रदेश

शुक्रबार, ४ जेठ, २०८१
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। सुदूरपश्चिमले बागमती प्रदेशविरुद्ध एक सय नाै रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको एक सय ५८ रनको लक्ष्य पछ्याएको बागमतीले १६.१ ओभरमा सबै विकेट गुमाउँदै ४८ रनमा समेटियो। 

जितसँगै चार खेलमा ६ अंक जोड्दै सुदूरपश्चिम दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो। पराजित बागमती प्रदेश समान खेलबाट दुई अंक जोड्दै प्रतियोगिताबाट बाहिरियो। 

बागमतीका लागि करिश्मा गुरुङले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। कन्चन श्रेष्ठले सात, विपिसा साहीले चार तथा सोनी पाख्रिनले तीन रन जोडे। 

बागमतीलाई सस्तैमा समेट्नेक्रममा सुदूरपश्चिमकी ऋतु कनोजियाले तीन विकेट लिइन् भने कविता जोशी र लक्ष्मी साउदले समान दुई–दुई विकेट लिए। त्यस्तै कप्तान विन्दु रावल र करिश्मा थापाले समान एक–एक विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर एक सय ५७ रनको योगफल बनाइएको थियो। 

सुदूरपश्चिमका लागि सम्झाना खड्काले सर्वाधिक ७४ रनको योगदान दिइन्। उनले ४७  बलमा १० चौकाको मद्दतले अविजित ७४ रनको योगदान दिएकी हुन्। त्यस्तै, रुवी पोदार र विन्दु रावलले समान २८/२८ रन बनाए भने कविता जोशीले अविजित २० रन बनाएकी थिइन्।

बागमतीका लागि करिश्मा गुरुङले एक विकेट लिइन्। यो जितसँगै सुदूरपश्चिमले उपाधिका लागि अब नेपाल एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल भोलि हुनेछ। 
 

सुझावित समाचार