सिराहाको दक्षिणी सीमावर्ती खैरटोका माडर भन्सारनजिकबाट प्रहरीले कडा खालको मानिने प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ ।
सिराहाको गोलबजार नगरपालिका– ४ घर भएका करिब २६ वर्षीय आशिष साह र वडा नम्बर १२ बेतौना घर भएका विनोद मण्डललाई भारतीय क्षेत्रबाट मास्कमा लुकाएर ल्याएको ६.२४० ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
प्रहरीका अनुसार ज.२प ७१४४ नम्बरको मोटरसाइकल चढेर नेपालतर्फ आउँदै गरेका दुईजनालाई शंका लागेपछि माडर भन्सारनजिक रोकेर चेकजाँच गर्दा साहले मुखमा लगाएको मास्कभित्र लुकाएको ब्राउनसुगर बरामद भएको हो ।
ब्राउनसुगर बरामद भएपछि तत्काल मोटरसाइकलसहित दुवैजनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।