ताप्लेजुङ पर्यटन महोत्सवको तयारी तीव्र

सोमबार, ३१ बैशाख, २०८१
डिजिटल संस्करण

हिमाली जिल्ला ताप्लेजुङमा हुने ‘ताप्लेजुङ पर्यटन महोत्सव’को तयारी तीव्र पारिएको छ । शनिबार पत्रकार सम्मेलन गरी आगामी ३ देखि ७ जेठसम्म पर्यटक प्रवर्द्धनार्थ सञ्चालन हुने महोत्सवको तयारी तीव्र पारिएको महोत्सव सञ्चालन समितिका अध्यक्ष, संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाले बताए । 

जिल्ला तथा नेपालकै प्रसिद्ध तीर्थस्थल पाथीभरा, कञ्चजंघा, फुङफुङेलगायत  पर्यटकीय स्थानको प्रचार–प्रसार तथा पहिचानका लागि पनि महोत्सवको अयोजना गरिएको लामाको भनाइ छ । ०६३ सालदेखि सञ्चालन भएको पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव कोरोनाका कारण बीचमा दुई वर्षसम्म हुन सकेन । यस वर्ष पनि सोहीअनुसार म्याराथन हुने भएको सञ्चालक समितिका सदस्यसचिव देवराज गुरुङले जानकारी दिए ।

महोत्सवमा कृषिमेला प्रदर्शनी, औद्योगिक हस्तकला, खाद्य परिकार महोत्सव, अन्तरपालिकास्तरीय चौथो मेयर कप भलिबल प्रतियोगिता, डोको क्यारी रन पुरुष प्रतियोगिता, टपरी बन्ने प्रतियोगिता, डोको बन्ने प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, लोक सांस्कृतिक कार्यक्रम गरिने आयोजक समितिका संयोजक लामाले बताए । त्यस्तै, म्याराथन दौड तथा हाफ महिला म्याराथन दौडसमेत हुने बताइएको छ । 

पाथीभरा म्याराथन, पर्यटन महोत्सव तथा विभिन्न कार्यक्रमका लागि करिब ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको गुरुङले बताए । पर्यटन मन्त्रालय र पर्यटन बोर्डबाट २० लाख रुपैयाँ बजेट माग गरिएको र बाँकी रकम विभिन्न दाताबाट जुटाइने लामाले बताए । 

सुझावित समाचार