नेपालमा केबलकार भित्र्याउने उद्यमी लक्ष्मणबाबु श्रेष्ठको जीवनीमा आधारित पुस्तक विमोचन गरिएको छ । लक्ष्मणबाबु श्रेष्ठ स्मृति कोषले आयोजना गरेको कार्यक्रममा वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापाले ‘नेपालमा केबलकारका स्रष्टा लक्ष्मणबाबु श्रेष्ठ’ नामको पुस्तक विमोचन गरेका हुन् । श्रेष्ठका गुरुसमेत रहेका थापाले चेलाका सम्बन्धमा भने, ‘केही मानिस स्पष्ट बाटो हिँड्छन् र गन्तव्यमा पनि पुग्छन् । लक्ष्मणबाबु यस्तै मानिस थिए । अगाडि बढ्नु छ भने उनीजस्तै उद्देश्य राखेर झुट नबोली अडानका साथ काम गर्नुपर्छ ।’ आफूलाई लक्ष्मणले जागिर लगाइदिन आग्रह गर्ने क्रममा भेट हुँदा पढ्न सुझाव दिएको उनले स्मरण गरे ।
उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले लक्ष्मणबाबुका तीन कुरा प्रेरणादायी रहेको बताए । ‘उनी साहस र संकल्प गर्ने व्यक्तित्व हुन् । दोस्रो, उनी सिर्जनात्मक व्यक्तित्व पनि हुन्,’ उनले भने, ‘तेस्रो, कामप्रति निष्ठापूर्वक लाग्ने जुन समर्पणसहितको हुन्थ्यो ।’ राष्ट्र निर्माणमा कसरी योगदान दिने भनेर सधैँ चिन्तित हुने कर्मवीर र निडर लक्ष्मणबाबुले धेरैलाई देश विकासमा योगदान गर्न प्रोत्साहित गरेको उनको भनाइ छ ।
लेखक प्रा.डा. जयराज आचार्यले असम्भवजस्तै लाग्ने केबलकार नेपाल भित्र्याउनु चानचुने कुरो नभएको समयमा ०५५ सालमा हिम्मत बटुलेर मनकामना मन्दिरसम्म लाखौँ भक्तजनलाई जोड्न लक्ष्मणबाबु सफल भएको बताए । उनले भने, ‘उहाँको यो साहस, चितवनमा एक अर्ब लगानी गरेर चितवन मिल्क खोलेको र जलविद्युत्का योजना सुरु गर्ने व्यक्तित्व भएकाले यो किताब लेख्ने काम गरेँ ।’
कार्यक्रममा लक्ष्मणबाबुका भतिज ध्रुवबाबु श्रेष्ठले तीन वर्ष लगाएर पुस्तक तयार पारेको बताउँदै भने, ‘काकाभन्दा म ६ वर्ष कान्छो छु । उहाँले व्यापार गर्न थालेदेखि नै सोच, जोस र आँट थियो । त्यसैले यी सबै काम गर्न सम्भव भयो । देशलाई धेरै दिनुभयो ।’
छोरी रोशनाले बुबाको घमन्ड नगर्ने स्वभावको प्रशंसा गर्दै भनिन्, ‘दीनदुःखीलई सहयोग गर्ने र हरेस नखाने बुबाको बानी मन पथ्र्यो । यो पुस्तकले धेरैलाई हौसला दिनेछ ।’ १० वर्षअघि दिवंगत लक्ष्मणबाबुबारेको यो पुस्तक न्यु नेपाल प्रेसले प्रकाशन गरेको हो भने किताब जात्रा अनलाइनबाट विश्वभर पु¥याउने व्यवस्था गरिएको कार्यक्रममा जानकारी दिइयो ।