रोयल च्यालेन्जर्स बेंग्लोरका पूर्वकप्तान विराट कोहली उत्कृष्ट फर्ममा छन् । इन्डियन प्रिमियर लिगको १७औँ संस्करणमा कोहलीले प्रत्येक खेलमा उत्कृष्ट ब्याटिङ गरिरहेका छन् । प्रत्येक सिजनमा उनको नामका रेकर्ड बन्ने गर्छ ।
आइपिएलको बिहीबार राति भएको खेलमा उनले पन्जाब किंग्सविरुद्ध व्यक्तिगत रेकर्ड बनाउन सफल भए । पन्जाबसँगको खेलमा ९० रन जोडेका कोहलीले लगातार आइपिएलको दोस्रो सिजन व्यक्तिगत ६ सय रनको योगफल कटाउन सफल भए । उनकै ब्याटिङको सहयोगमा बेंग्लोरले पन्जाबलाई ६० रनले हरायो ।
पहिलो ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा सात विकेट गुमाएर दुई सय ४१ रन बनाएको थियो । प्रत्युत्तरमा पन्जाबले १७ ओभरमा सबै विकेट गुमाएर एक सय ८१ रन मात्र जोडेको थियो । कोहलीले ४७ बलमा ६ छक्का र सात चौका प्रहार गरे ।
रजतले ५५ रनको योगदान दिए । केमरोन ग्रिनले ४६ रन जोडे । पन्जाबका लागि रिली रोसाउले २७ बलमा २७ रन बटुलेका थिए । आइपिएलको इतिहासमा पन्जाबले २९ पटक दुई सयमाथिको योगफल पछ्याएको थियो ।
आइपिएलमा आठ शतक
आइपिएलमा कोहलीले १३ पटक ९० रनमाथिको योगफल खडा गरेका छन् । चालू आइपिएलमा उनी दुईपटक नर्भस नाइटिजको सिकार भए । यसअघि उनी दिल्ली क्यापिटल्सविरुद्ध ९९ रनमा आउट भएका थिए । उनले आइपिएलमा आठपटक शतकीय इनिङ्स खेलेका छन् । आइपिएलमा क्रिस गेल, डेभिड वार्नर र जोस बटलरले समान १० पटक ९० रनमाथिको योगदान आफ्नो टोलीलाई दिएका छन् । कोहलीले आइपिएलमा चारपटक ६ सय रनको योगफल कटाए ।