स्रोतमै फोहोर छुट्याउने अभियानमा सफल बन्दै महानगर

वडा नम्बर २७ बाट सुरु भएको अभियान थप पाँच वडामा विस्तार

सोमबार, २४ बैशाख, २०८१
डिजिटल संस्करण

स्रोतमै फोहोर छुट्याउने अभियानमा काठमाडौं महानगरपालिका सफल हुँदै गएको छ । वडा नम्बर २७ बाट सुरु भएको यो अभियान थप पाँच वडामा विस्तार भएको छ ।महानगरका अनुसार वडा ५, ७, १०, १२, १७ मा स्रोतमै फोहोर छुट्याउन थालिएको छ भने अरू पाँच वडाबाट समेत फोहोर छुट्याउनुपर्ने माग आएको छ । महानगरअन्तर्गतको वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठ भन्छन्, ‘स्रोतमै फोहोर छुट्याउने काममा हामी सफल हुँदै छौँ । वडा नम्बर २७ बाहेक अरूमा समेत अभियान सुरु भइसकेको छ । यसबाहेकका अन्य वडाले समेत फोहोर छुट्याएर संकलन गरिदिन माग गरिरहेका छन् ।’ वडा नम्बर ६ र २० ले औपचारिक रूपमै स्रोतमा फोहोर छुट्याएर संकलन गर्न माग गरेका छन् । 

महानगरले औपचारिक रूपमा गत २३ माघदेखि स्रोतमै फोहोर 
छुट्याएर संकलन गर्न थालेको हो । छुट्याएको फोहोर संकलन गर्न भिन्न संकेत (रङ)सहितको गाडी तयार पारेको छ । फोहोर उत्पादन भएकै ठाउँमा (कुहिने र नकुहिने) छुट्याउने र छुट्टिएको फोहोर छुट्टै संकलन, ढुवानी तथा व्यवस्थापन गर्ने गरी गाडीको व्यवस्था गरिएको हो । विभागले स्थानीयको घरदैलोमा पुगेर फोहोर संकलन गर्ने रुट निर्धारण, साधन तथा उपकरणको प्रबन्ध, जनशक्ति परिचालन, संकलन तथा व्यवस्थापन विधि सिकाउने, समुदायको सहभागिता बढाउने र कामको अनुगमन मूल्यांकनको समेत योजना बनाइरहेको छ । महानगरले स्रोतमै फोहोर वर्गीकरण गर्न थालेका वडाहरूका घरमै फोहोर वर्गीकरण नगरे संकलन नै गर्दैन ।

रविनमान श्रेष्ठ, प्रमुख, वातावरण विभाग,
काठमाडौं महानगरपालिका

स्रोतमै फोहोर छुट्याउने काममा सफल हुँदै छौँ । वडा नम्बर २७ बाहेक अरूमा समेत अभियान सुरु भइसकेको छ । यसबाहेकका अन्य वडाले समेत फोहोर छुट्याएर संकलन गरिदिन माग गरिरहेका छन् ।

महानगरले यसअघि पटक–पटक फोहोर वर्गीकरण गर्ने प्रयास गरेको थियो, तर उक्त प्रयास सफल हुन सकेको थिएन । तर, पछिल्लो समय भने यसले सकारात्मक सन्देश दिएको महानगरको भनाइ छ । महानगरले वैशाख ०७९ मा सूचना जारी गर्दै १ साउनदेखि स्रोतमै फोहोर वर्गीकरण गर्नुपर्ने उल्लेख गरेको थियो । तर, उक्त निर्णय कार्यान्वयन भएन । महानगरले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, ०७७ र फोहोरमैला व्यवस्थापन ऐन, ०६८ को हवाला दिँदै स्रोतमै फोहोर पृथकीकरण गर्न आग्रह गरेको थियो । घर वा कार्यालयमै फोहोर नछुट्याए वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, ०७७ र फोहोरमैला व्यवस्थापन ऐन, ०६८ अनुसार कसुर मानी प्रत्येकपटक पाँच सय रुपैयाँ जरिवाना गर्ने जनाएको थियो । तर, महानगरले आफ्नो तर्फबाट तयारी पु¥याउन नसक्दा फोहोर छुट्याए पनि त्यसले निरन्तरता भने पाउन सकेको थिएन ।

५० टन मल उत्पादन
महानगरले स्रोतमै छुट्याएको फोहोरबाट ५० टन मल उत्पादन गरेको छ । यसका लागि महानगरले टेकुमा ठाउँ बनाएको छ । उत्पादित मल के गर्ने भन्नेबारे भने महानगरको कुनै योजना छैन । महानगरसँग जम्मा भएका पुनः प्रयोग र पुनः चक्रिय फोहोर बिक्रीका लागि बोलपत्र आह्वान गरेको छ । भ्याटबाहेक २२ करोड ४८ लाख ७८ हजार रुपैयाँ न्यूनतम रकम तोकी बोलपत्र आह्वान गरेको हो । 

See More On

सुझावित समाचार