रियलले जित्यो ३६औं पटक स्पेनिस ला लिगा

सर्वाधिक ८७ अंक जोडेको रियल म्याड्रिड चार खेल बाँकी रहँदै च्याम्पियन

सोमबार, २४ बैशाख, २०८१
डिजिटल संस्करण

रियल म्याड्रिडले शनिबार राति ३६औँ पटक स्पेनिस ला लिगा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । रियलले चार खेलअघि उपाधि जित्ने क्रममा रेलिगेसनको सँघारमा रहेको काडिजलाई ३–० ले हराएको थियो । बार्सिलोना गिरोनासँग ४–२ ले पराजित हुँदा रियल च्याम्पियन बनेको हो ।

प्रशिक्षक कार्लोस एसेलोटीको प्रशिक्षणमा रहेको रियल सिरिजमा एक खेलमा मात्र पराजित भएको थियो । गत सेप्टेम्बरमा एट्लेटिको म्याड्रिडसँग तीन अंक गुमाए यता रियल लगातार २८ खेलमा विजयी रह्यो । समग्रमा रियलले ३६औँपटक ला लिगा उपाधि हात पारेको हो । छिमेकी प्रतिद्वन्द्वी बार्सिलोनाले २७ पटक ट्रफी जितेको छ । शीर्ष स्थानमा रहेको रियलले ३४ खेलमा सर्वाधिक ८७ अंक जोडेको छ । बार्सिलोना ७३ अंकका साथ तेस्रो स्थानमा छ । गिरोनाले ३४ खेलबाट ७४ अंक जोडेको छ । एटलेटिको म्याड्रिड ६७ अंकका साथ चौथो स्थानमा रहेको छ । 

इंग्लिस मिडफिल्डरको प्रभाव
प्रशिक्षक एन्सेलोटीले इंग्लिस मिडफिल्डर जुडे वेलिंघमलाई पहिलो सेटमै प्रतिस्पर्धा गराएका थिए । यसै सिरिज रियलमा आबद्ध भएका वेलिंघमले महत्वपूर्ण खेलमा गोल गर्न सफल भए । उनले बार्सिलोनाविरुद्धको दुवै एल क्लासिकोमा गोल गरे । एल क्लासिकोको पहिलो खेलमा उनले इन्जुरी समयमा गोल गर्दै रियललाई सनसनी जित दिलाउन सफल भए । उनले चालू लिगमा १८ गोल गरेका छन् । वेलिंघमको विशेषता नै विपक्षीका डिफेन्डरलाई सहजै पछ्याउने र प्राप्त मौकामा गोल गर्ने हो । यति मात्र नभएर उनी गोलका लागि साथीहरूलाई सटिक पास दिने गर्छन् । 

डेब्युदेखि काडिजसँगको खेलसम्म प्रभावशाली प्रदर्शन गरेका वेलिंघम टोलीकै प्रमुख खेलाडीका रूपमा मार्काले जनाएको छ । ‘छिटो निर्णय गर्न सक्ने र फरक शैलीका खेलाडी वेलिंघम,’ मार्काले आइतबारको संस्करणमा लेखेको छ । २० वर्षीय मिडफिल्डर वेलिंघमले रियलका स्टार खेलाडीहरूले भरिएको ड्रेसिङ रुममा धेरै ज्ञान लिएको मार्काको भनाइ छ । युवा खेलाडी भए पनि उनलाई सिनियर खेलाडीले हौसला दिएको कारण नै रियलले पहिलो सिजनमै वेलिंघमबाट आशा गरेभन्दा बढी सफलता प्राप्त गरेको मार्काले जनायो । यस सिजनमा उनी बालोन डियरका दाबेदारी खेलाडी थिए ।

फिनिसिङ र मिडफिल्डर बलियो
सन् २०२२ पछि रियलले उपाधि जित्नुको पछाडि धेरै कारण छन् । गोलरक्षकदेखि फिनिसिङ पक्षसम्म रियलको बलियो रह्यो । अझ ब्राजिलियन युवा स्ट्राइकर भिनिसिस जुनियर र रोड्रोगोले फिसिनिङ पक्षमा दरिलो उपस्थिति देखाए । गत सिजन करिमा बेन्जीमा साउदी प्रो लिगमा आबद्ध भएपछि रियलमा फिसिनिङको खडेरी परेको थियो । तर, प्रशिक्षक एन्सेलोटीले युवा खेलाडीको टोली बनाए ।

बेन्जिमाको रिक्ततालाई वेलिंघमले पूरा गरे । ब्राहिम डिआजले ६ गोल गर्नुका साथै चारपटक असिस्ट गरे । स्टोक सिटी र न्युकास्टलले लक्षित गरेका खेलाडी जोसेलुले पनि १३ खेलमा नौ गोल गर्न सफल भए । लुका मोड्रिक र टोनी क्रु्जले करिअरकै उत्कृष्ट प्रदर्शन गर्न सफल भए । सियिनर खेलाडीद्वयले रियलको सफलतामा योगदान दिएका छन् । क्रुजले फाइनल थर्डमा निर्वाह गरेको भूमिका सराहनीय भएको मार्काले जनाएको छ । 

सुझावित समाचार