नेपाली साहित्यकार स्वर्गीय बहादुरसिंह बरालको सालिक भारतमा निर्माण भएको छ।
हिमाचलको दारी, भाग्सुस्थित गोरखनाथ मन्दिरको परिसरमा निर्माण गरिएको उनको अर्धकदको सालिकको गत १५ वैशाखमा अनावरण भएको उनको परिवारले जनाएको छ।
त्रिभुवन विश्वविद्यालयको नेपाली विभागका प्रमुख डा. खगेन्द्रप्रसाद लुइँटेल, पूर्वसांसद दिलकुमारी राईलगायतको उपस्थितिमा सालिकको अनावरण भएको हो।
तत्कालीन ब्रिटिस इन्डियन आर्मीको पहिलो गोर्खा राइफल्सको दोस्रो बटालियनबाट अवकाशप्राप्त सैनिक अधिकृत रहेका बरालले नै सन् १९५५ मा गोरखनाथ मन्दिरको स्थापना गरेका हुन्।
वि.सं. १९७० साल असार ३ गते पहिलो गोर्खा राइफल्सको दोस्रो बटालियनमा जमदार पदमा भर्ती भएका बराल सुबेदार मेजर पदबाट सन् १९३५ सालमा सेवानिवृत्त भएका थिए। अवकाशपछि पनि पुनः सैनिक सेवामा प्रवेश गरी मानार्थ कप्तानका रूपमा उनले सेवा गरेका थिए।
२००७ सालको प्रजातन्त्रको संघर्षमा पनि उनी सहभागी थिए । ‘बरालको आँसु’ नामक उनले चर्चित कृति पनि लेखेका छन्।
सो कृतिमा एक सय ६८ वटा रचना संकलित छन्। ‘बरालको आँसु’ सन् १९३२, १९३३, १९३५, १९३६ र १९३८ सालमा गरी पाँच संस्करण छापिएको थियो। वि.सं ०५० सालमा खड्गजित बराल (बहादुरसिंहका कान्छा छोरा तथा नेपाल प्रहरीका अवकाशप्राप्त आइजिपी)को प्रकाशकत्वमा बरालको आँसुको नवीन संस्करण भनी पुनः प्रकाशित भएकोमा अन्तिम संस्करण डा. खगेन्द्रप्रसाद लुइँटेलबाट सम्पादित भई वि.सं. २०६९ सालमा प्रकाशित भएको छ।
सन् १९१४ मा प्रथम विश्वयुद्धमा फ्रान्समा युद्ध लड्दा नेपालको राष्ट्रिय गान नभएपछि हीनताबोध महसुस गरी उनले सो पुस्तक लेख्ने अठोट गरेका थिए।