युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा जर्मन क्लब बोरुसिया डर्टमुन्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) माथि १–० को कठिन जित निकालेको छ । घरेलु मैदान सिंगल इडुना पार्कमा डर्टमन्डलाई जित दिलाउन निकोलस फुलक्रुगले एक मात्र निर्णायक गोल गरे । उनले खेलको ३६औँ मिनेटमा स्लोटरबेकको पासमा गोल गरेका हुन् । सेमिफाइनलको दोस्रो लेग २५ मेमा हुनेछ ।
जर्मनीका अन्तर्राष्ट्रिय खेलाडी फुलक्रुगले डिबक्सभित्र स्लोटरबेकको लामो पासलाई नियन्त्रणमा लिँदै गोल गरेका हुन् । पहिलो हाफमा पिएसजीले जर्मन क्लबविरुद्ध खराब प्रदर्शन गरेको थियो । मध्यान्तरअघि पिएसजीको पोसेसन खराब रह्यो । दोस्रो हाफमा पिएसजीले बराबरी गोल फर्काउने अवसर चुकाएको थियो । प्रमुख स्ट्राइकर केलियन एम्बाप्पेले डिबक्सभित्र सहज अवसर खेर फालेका हुन् ।
डर्टमन्डलाई अग्रता दिलाएका फुलक्रुगले दोस्रो हाफमा एउटा राम्रो अवसर खेर फाले । म्यानचेस्टर युनाइटेडबाट लोनमा डर्टमन्डमा आएका जाडोन सान्चोको पासमा उनले सानो डिबक्सबाटै गोल गर्न सकेनन् । पिएसजीले दोस्रो हाफमा खेल नियन्त्रण राखे पनि डर्टमन्डको डिफेन्स तोड्न सकेन । डर्टमन्डका गोलरक्षक गिआलुगी डोनारुमानले आकर्षक बचाउन गरेका थिए । उनले मार्सेलले क्लोज रेन्जबाट प्रहार गरेको बललाई पन्च गरी बचाए । खेलमा पिएसजीले ५७ र डर्टमन्डले ४३ प्रतिशत बल पोसेसन राखेका थिए । पिएसजीले १४ र डर्टमन्डले १३ पटक गोल प्रयास गरेका थिए ।