रुसी सेनामा कार्यरत नेपालीका परिवार १४ दिनदेखि अनशनमा

१३ बुँदे मागबारे सरकार उदासीन, मृतकका परिवारले क्षतिपूर्ति पाएनन्

बिहिबार, २० बैशाख, २०८१
डिजिटल संस्करण
रुसी सेनामा कार्यरत नेपालीका परिवार १४ दिनदेखि अनशनमा

फाइल तस्बिर

रुसी सेनामा कार्यरत नेपालीको स्थिति सार्वजनिक गर्न, मृतकका परिवारलाई क्षतिपूर्ति दिन, सेनामा रहेकाको करार रद्द गर्न माग गर्दै परिवारजन १४ दिनदेखि आमरण अनशनमा छ । दुई सातादेखि १३ बुँदे माग राख्दै जारी राखेको आमरण अनशनबारे सरकारले चासो नदिएको उनीहरूको गुनासो छ । 

‘हालसम्म ३९ जनाको मृत्यु भएको र थप १८ जनाको मृत्यु पुष्टि हुन बाँकी छ । परिवारजनले राख्दै आएका माग पूरा नभएपछि आमरण अनशनमा छौँ,’ रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षार्थ अभियानकी संयोजक कृतु भण्डारीले भनिन्, ‘अहिलेसम्म हामीलाई सरकारी निकायले कुनै सम्पर्क गरेका छैनन् । परिवारजनको माग पूरा नभएसम्म आमरण अनशन जारी राख्छौँ ।’ 

भण्डारीको नेतृत्वमा परिवारले कहिले सिंहदरबार घेराउ त कहिले रुसी दूतावासअगाडि प्रदर्शन गर्दै आएका छन्, तर कतैबाट माग सम्बोधन नभएको उनीहरूको गुनासो छ । ‘परिवारजनले सरकारसँग न्याय मागेका छन् । रुस सरकारसँग जुन प्रकारको कूटनीतिक प्रयास गर्नुपर्ने हो, त्यो भएन,’ भण्डारीले भनिन् । उनका अनुसार हालसम्म रुसमा कार्यरत रहेकामध्ये उनीहरूसँग ६ सय २० भन्दा धेरै व्यक्तिको विवरण छ । जसमध्ये ३९ जना मृतक, १८ जना मृत्यु भएको भनिएका, तर पुष्टि हुन बाँकी, पाँचजना युुक्रेनको कब्जामा, ११७ जना घाइते तथा २७२ जना सम्पर्कविहीन छन् । 

रुसी सेनामा करार सम्झौता रद्द गरेका नौजना, रुसी राहदानीका लागि आवेदन दिएका ११ जना, रुसी राहदानी नलिने कागजातमा हस्ताक्षर गरेका १९ जना र बाँकी व्यक्ति सम्पर्कमा छन् । ‘३९ जना नेपालीको मृत्यु भएको विवरण प्राप्त भएको छ । परिवारजनले उनीहरूको काजकिरिया गरिसकेको छ,’ उनले भनिन्, ‘करार रद्द भएकाहरू पनि पुनः रुसी सेनामा भर्ती हुनुपरेको विवरण आइरहेको छ । यसमा सरकारले जवाफ दिनुपर्छ ।’ 

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी समकक्षी सेर्गेई लाभरोभसँग २९ फागुनमा टेलिफोनमा कुरा गरेअनुसार परिवारले क्षतिपूर्ति अझै पाउन सकेका छैनन् । रुसमा कार्यरतमध्ये हालसम्म १६ जनाको मृत्यु भएको सरकारले सार्वजनिक गरेको छ । रुसी सेनामा कार्यरत रहेर मृत्युवरण गरेका, बेपत्ता भएका र असहज स्थितिबाट गुज्रिरहेका नेपाली नागरिकका परिवारको राहतका लागि संघ सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारका सबै संयन्त्रलाई परिचालन गराइदिन पनि परिवारजनले माग गरेका छन् । ‘परिवारजनसँग सरकारले अपराधीको जस्तो व्यवहार गर्ने होइन, समाधानका लागि प्रयास गर्नुपर्छ । सरकारको व्यवहार सही भएन,’ भण्डारीले भनिन् । 

परराष्ट्र प्रवक्ता राई भन्छन्–कूटनीतिक प्रयास गर्दै छौँ 
सरकारले रुसी सेनामा कार्यरत रहेको अवस्थामा मृत्यु भएका व्यक्तिको क्षतिपूर्तिका लागि प्रयास भइरहेको जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले कन्सुलर विभागमार्फत मृतकको विवरण रुस सरकारलाई बुझाइएको बताए । ‘रुसी सेनाले मागेअनुसारको कागजपत्र पठाएका छौँ । हामीले विभिन्न च्यानलमार्फत रुससँग कुराकानी पनि गरिरहेका छौँ,’ उनले भने, ‘नेपाल फर्किन चाहनेलाई फर्किन दिनुपर्छ भन्ने हाम्रो भनाइमा उनीहरूले सैद्धान्तिक रूपमा सहमति जनाइसकेको अवस्था छ । परिवारजनसँग मन्त्रालयमै दुईपटक छलफल भएको छ । हामी परिवारजनको भावनालाई सम्मान गर्छौँ र आवश्यक प्रयास जारी राखेको जानकारी दिन चाहन्छौँ ।’ 

सुझावित समाचार