पोखरा विमानस्थलस्थित हवाई इन्धन भण्डारणगृह निर्माण सुस्त

मंगलबार, १८ बैशाख, २०८१
डिजिटल संस्करण
पोखरा विमानस्थलस्थित हवाई इन्धन भण्डारणगृह निर्माण सुस्त

पोखरा विमानस्थलस्थित जग मात्रै हालिएको निर्माणाधीन हवाई इन्धन भण्डारणगृह

पोखरा क्षेत्रीय विमानस्थलमा बन्ने हवाई इन्धन भण्डारणगृहको निर्माण कार्य निकै सुस्त भएको छ । पोखराबाट उडान गर्ने विमानलाई हवाई इन्धन उपलब्ध गराउने उद्देश्यले ०७९ कात्तिकमा ठेक्का सम्झौता भएको ३६ लाख लिटर क्षमताको भण्डारणगृह निर्माण सुस्त भएको हो । ६७ करोड २९ लाखमा रेलिगेयर–समानान्तर कन्स्ट्रक्सन र भारतीय कम्पनी बिएचएनले सहकार्य गरी निर्माण गरिरहेको परियोजनाको १ साउन ०८० मा शिलान्यास  गरिएको थियो । शिलान्यास भएको १० महिना बितिसक्दा पनि निर्माणले गति लिन सकेको छैन । अहिले १२–१२ लाख लिटर हवाई इन्धन अटाउने भण्डारणगृह र १२ लाख लिटरको पानीट्यांकीको जग मात्रै हालिएको छ ।

दुई वर्षमा निर्माण सक्नुपर्ने सर्त भए पनि शिलान्यासपछि निर्माण सुरु भएको १२ महिनामा सक्ने लक्ष्य राखिएको थियो । तर, १० महिनासम्म जग मात्रै हालिएकाले निर्माण अवधि थपेर कात्तिकसम्म पु¥याइएको समयमा पनि काम सक्न गाह्रो हुने देखिन्छ । सो परियोजना प्रमुख रहेका आयल निगमका उपनिर्देशक प्रदीप यादवले कात्तिकसम्म जुनसुकै हालतमा भण्डारणगृह निर्माण सक्न निर्देशन दिएको बताए । ‘सात महिनामा काम सक्न निर्माण कम्पनीलाई पनि जानकारी गराएको छु । सात महिनामा काम नसकिए मैले परियोजनाको जिम्मेवारी लिनेछैन,’ उनले भने ।

परियोजना निर्माणमा अस्वाभाविक ढिलाइ भएकाले तोकिएको समयभन्दा बढी अवधि दिन नसकिने यादवले बताए । पोखरा विमानस्थल सञ्चालनमा आएपछि अन्तर्राष्ट्रिय उडान थपिएर हवाई इन्धनको माग बढ्ने भन्दै निगमले भण्डारण क्षमता वृद्धि गर्न थालेको हो । आयल निगमले लामो समयपछि हवाई इन्धनको स्थायी भण्डारणगृह निर्माण गरेको हो । यसअघि दाङ, जनकपुर र झापामा अस्थायी प्रकृतिको ‘बन्डेड ट्यांक’ राखिएको थियो ।

पोखरा विमानस्थलस्थित निगमको हवाई इन्धन डिपो प्रमुख सुमन पुडासैनीका अनुसार अहिले दैनिक १८ हजारदेखि २२ हजार लिटरसम्म इन्धन खपत भइरहेको छ । ‘बेमौसममा भने आठदेखि १० हजार लिटरसम्म इन्धन खपत हुने गरेको छ,’ उनले भने ।

पोखरामा अहिले ६४ हजार लिटर क्षमताको मात्रै भण्डारण रहेकाले वृद्धि आवश्यक रहेको पुडासैनीले बताए । पोखरा विमानस्थलमा ३६ लाख लिटर क्षमताको भण्डारणगृह तयार भएपछि अन्तर्राष्ट्रिय उडान गर्ने विमानलाई पनि इन्धन सुविधा उपलब्ध गराउन समस्या नहुने परियोजना प्रमुख यादवले जानकारी दिए ।

कात्तिकसम्म भण्डारणगृह नबने जिम्मेवारी छाड्छु : प्रदीप यादव, परियोजना प्रमुख
कात्तिकसम्म भण्डारणगृह निर्माणको काम सक्नु भनेको छु । बुधबार पोखरा विमानस्थल निर्माणस्थल पुगेर स्टोरेज ट्यांक निर्माणको सामान्य पूजा गरेर फर्केको छु । सात महिनामा काम नसकिए मैले परियोजनाको जिम्मेवारी लिनेछैन । तोकिएको समय गुजार्ने र म्याद थपेर लागत बढाउनेलगायतका विकृति रोक्नु जरुरी छ ।

सुझावित समाचार