तीन टी–२० म्याचको शृंखलामा नेपालले सान्त्वना जित हासिल गरेको छ।
अघिल्ला दुई म्याच जित्दै आयरल्यान्ड ‘ए’ले शृंखला जितिसकेको छ।
कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा आज खेलिएको शृंखलाको अन्तिम म्याचमा नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’ लाई तीन रनले पराजित गर्यो।
नेपाल ‘ए’ ले दिएको दुई सय १४ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड ‘ए’ले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय १० रन मात्र बनायो।
मोर्गन टोपिङ र ग्यारेथ डिलेनीले एक सय ६३ बलमा एक सय २९ रन बनाएपछि आयरल्यान्ड ‘ए’ जिततर्फ अघि बढेको थियो। तर, मोर्गनलाई रसिद खान र डिलेनीलाई कमलसिंह ऐरीले आउट गरेपछि नेपाल खेलमा फर्किएको हो।
यद्यपि, अन्तिम ओभरमा खेल जित्न २० रन चाहिएको अवस्थाबाट आयरल्यान्ड ‘ए’ तीन बलमा दश रनको अवस्थामा पुगेको थियो। यस्तोमा चौका प्रहार भएपछि खेल निकै रोमाञ्चक बन्यो। पाँचौँ ओभरमा लोकेश बमको थ्रोमा विकेटकिपर कप्तान विनोद भण्डारीले फियोन हान्डलाई रनआउट गरेपछि अन्तिम बलमा खेल जित्न आयरल्यान्ड ‘ए’लाई पाँच रन आवश्यक भयो। तर, अन्तिम बलमा एक रन मात्र बनेपछि नेपाल ‘ए’ तीन रनले विजयी भयो।

त्यसअघि टस जितेर आयरल्यान्ड ‘ए’ले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा दुई सय १३ रन बनाएको थियो। नेपालको विशाल रन स्कोरमा आरिफ शेखको योगदान सबैभन्दा महत्वपूर्ण रह्यो।
४८ बल मात्र खेलेका आरिफ ९३ रनमा अविजित रहे। उनले विस्फोटक इनिङमा ६ छक्का र सात चौका प्रहार गरे। अन्य ब्याटरले ठूलो रन स्कोर खडा गर्न सकेनन् ।

बरु बलर रसिद खानले १३ बलमा २४ रन हानेर आरिफलाई महत्त्वपूर्ण साथ दिए। यस्तै, अर्का बलर कमलसिंह ऐरीले सात बलमा १९ रन प्रहार गरे। उनी अविजित रहे ।
ब्याटिङको मुख्य जिम्मेवारीमा रहेका बसिर महम्मदले २१ बल खेलेर १९, पवन सर्राफले १२ बल खेलेर १३ रन बनाए भने कप्ता विनोद भण्डारीले आठ रन जोडे।
नेपालको ओपनिङ जोडीले आज पनि राम्रो गर्न सकेन। आजको खेलमा कप्तान भण्डारीको स्थानमा देव खनाल ओपनिङ गर्न आएका थिए। तर, खनाल सात बलमा ६ रन बनाएर आउट भए। अर्का ओपनर लोकेश बलले सात बलमा आठ रन बनाए भने नारायण जोशी एक रनमा रनआउट भए।
आयरल्यान्ड ‘ए’ले अन्तिम पाँच ओभरमा ८४ रन दिएपछि नेपालले विशाल स्कोर खडा गरेको थियो। जवाफी ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ का ओपनर रस अडैरले १४ बलमै ३१ रन प्रहार गरेर आक्रामक सुरुवात दिलाएका थिए।
तर, विपिन कार्कीले लगातारका ओभरमा दुई विकेट लिएपछि नेपाल खेलमा फर्किएको थियो। तर, टोपिङ र डेलेनीले पुनः आक्रामक ब्याटिङ गर्दै खेलमा आयरल्यान्डलाई फर्काए। ३७ बल खेलेका डेलेनीले ६८ र ३७ बल खेलेका टोपिङले ६० रनको योगदान दिए।

बलिङमा विपिन कार्कीले तीन तथा कमलसिंह ऐरी, नारायण जोशी र रसिद खानले एक–एक विकेट लिए। नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ले अब बुधबारबाट नेपाल ‘ए’सँगै तीन एकदिवसीय म्याचको शृंखला खेल्नेछ।
