यो वर्ष गुल्मीमा एसइई दिने ६ सय २५ विद्यार्थी घटेका छन्। अहिले साधारण धारतर्फ तीन हजार सात सय ९०, प्राविधिकतर्फ दुई सय ९५ र ग्रेडवृद्धितर्फ १२ गरेर चार हजार ९७ जनाले परीक्षा दिँदै छन्।
शैक्षिक सत्र ०७९ सालको एसइई परीक्षामा चार हजार सात सय २२ विद्यार्थीले परीक्षा दिएका थिए। त्यस्तै शैक्षिक सत्र ०७८ सालमा चार हजार आठ सय २३ जनाले परिक्षा दिएका थिए।
त्यस्तै, ०७७ सालमा चार हजार सात सय ११ र ०७६ सालमा चार हजार सात पाँचजनाले एसइई परीक्षा दिएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लोकनाथ मरासिनीले जानकारी दिए। गुल्मीमा परीक्षाका लागि २८ केन्द्र निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका प्रमुख लोकनाथ मरासिनीले जानकारी दिए।
आवश्यकताका आधारमा जनता मावि अश्लेवा र अर्जे माविमा केन्द्र थप गरिएको छ भने रिडी मावि र रुरु संस्कृत माविको परीक्षा केन्द्र समायोजन गरेर रिडी माविमा परीक्षा केन्द्र सञ्चालन गरिएको छ। त्यस्तै, विद्यार्थी संख्या कम भएका कारण अर्जुन बोर्डिङको परीक्षा केन्द्र खारेज गरिएको इकाइ प्रमुख मरासिनीले बताए।
मरासिनीले जिल्लाभर परीक्षाको तयारी पूरा भएको बताए। सबै केन्द्रमा प्रश्नपत्र र उत्तरपुस्तिका पुगेको र केन्द्राध्यक्षलाई अभिमुखीकरण गरेर परीक्षा व्यवस्थित तथा भयरहित बनाउन निर्देशन दिएको मरासिनीले बताए। यो वर्ष एकजना दृष्टिविहीन र एकजनाले खुट्टाले लेखेर परीक्षा दिँदै छन्।