१४ किलो सुन तस्करीमा मुछिएका गुरुङको ‘कनेक्सन’ ६०.७१६ किलो तस्करीका नाइकेसँग

मंगलबार, १५ फागुन, २०८०
डिजिटल संस्करण
१४ किलो सुन तस्करीमा मुछिएका गुरुङको ‘कनेक्सन’ ६०.७१६ किलो तस्करीका नाइकेसँग

जीवनकुमार गुरुङ

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको १४ किलो सुन तस्करीमा मुछिएका जीवनकुमार गुरुङको ‘कनेक्सन’ ६०.७१६ किलो सुन तस्करमा मुख्य नाइके चिनियाँ नागरिक वाङग डाओजिनसँग रहेको खुलेको छ । गुरुङ तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’का सल्लाहकार थिए । 

नेपाल प्रहरीकोे केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गुरुङलाई सोमबार बिहान सामाखुसीस्थित उनको घरअगाडिबाट पक्राउ गरेको हो । थप अनुसन्धानका लागि उनलाई सिआइबीले विमानस्थलस्थित भन्सार कार्यालयमा पेस गरेको छ । उनीविरुद्ध अनुसन्धान भइरहेका भन्सार कार्यालयका निर्देशक मनिराम पौडेलले बताए । उनले भने, ‘१४ किलो सुन तस्करी घटनामा संलग्नमध्ये जीवनकुमार गुरुङ फरार थिए । उनलाई सिआइबीले पक्राउ गरेर हामीकहाँ बुझाएको छ । उनीविरुद्ध अनुसन्धान भइरहेको छ । उनको विगतमा भएका सुन तस्करीका नाइके डाओजिनसँग पनि सम्बन्ध रहेको देखिएको छ ।’ 

विमानस्थलस्थित भन्सार कार्यालयका निर्देशक मनिराम पौडेल भन्छन्—
१४ किलो सुन तस्करी घटनामा संलग्नमध्ये जीवनकुमार गुरुङ फरार थिए । उनलाई सिआइबीले पक्राउ गरेर बुझाएको छ । उनको सम्बन्ध विगतमा भएका सुन तस्करीका नाइके चिनियाँ नागरिक डाओजिनसँग समेत रहेको देखिएको छ । उनले डाओजिनलाई नेपालमा रहँदा गाडी उपलब्ध गराउने काम गराउने रहेछन् । त्यसबाहेक व्यवस्थापनको अन्य गतिविधि पनि उनीमार्फत हुने गरेको देखिन्छ ।

१४ किलो सुन तस्करीमा गुरुङले भारतीय नागरिक अंकित अग्रवालको प्रतिनिधि भएर काम गर्दै आएका थिए । अग्रवाल समूहले विमानस्थलबाट एक वर्षमा एक सय ३८ किलो सुन तस्करी गरेका थिए । सोही मध्येको १४ किलो सुन विमानस्थलबाट गत २१ मंसिरमा बरामद भएको थियो । 

अग्रवालका नेपाल प्रतिनिधि गुरुङको डाओजिनसँग पनि उत्तिकै राम्रो सम्बन्ध थियो । डाओजिन समूहले विमानस्थलबाट मात्रै ३६२.७७८ किलो सुन तस्कर गरेको थियो । जसमध्येको ६०.७१६ किलो सुन गत २ साउनमा विमानस्थलबाट बरामद भएको थियो । डाओजिन समूहले दोलखाका दिलीप भुजेलको नाममा दर्ता भएको कम्पनी रेडी ट्रेडको नाममा मात्रै दुई महिनाको बीचमा ३६२.७७८ किलो सुन नेपाल भित्रिएका थिए । 

विमानस्थलस्थित भन्सार कार्यालयका डाओजिन सुन तस्करी गर्ने उद्देश्यले वर्षौँअघिदेखि नेपाल आउजाउ गरिरहन्थे । नेपाल रहँदा डाओजिनलाई गाडी उपलब्ध गराउने काम गुरुङले गर्थे । गुरुङले उनलाई आफ्नै गाडी पनि दिने गर्थे । उनको घरमा पनि डाओजिनको आउजाउ हुन्थ्यो । त्यसबाहेक होटेल व्यवस्थापनदेखि शक्तिकेन्द्रसँग सम्पर्क गराइदिने कामसमेत उनले गराइदिन्थे । उपराष्ट्रपति पुनको सल्लाहकार हुँदा उनले डाओजिनलाई शक्तिकेन्द्रसम्म पु¥याइदिने काम गर्दै आएका थिए ।

विमानस्थलस्थित भन्सार कार्यालयका निर्देशक पौडेलले भने, ‘गुरुङले डाओजिनलाई नेपालमा रहँदा गाडी उपलब्ध गराउने काम गराउने रहेछन् । त्यसबाहेक व्यवस्थापनको अन्य गतिविधि पनि गुरुङमार्फतबाटै हुने गरेको देखिन्छ । घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ । घटनाले संगठित रूप लिए थप अनुसन्धानका लागि हामी सिआइबीलाई बुझाउनेछौँ ।’

सुन तस्किरीको कारोबार हुन्डी र क्रिप्टोमार्फत
घटनाको अनुसन्धान भन्सार कार्यालयले गरेको थियो । १३ दिनको अनुसन्धानपछि उनीहरूले पटक–पटक गरी विमानस्थलबाट एक अर्ब ४० करोड ५५ लाख रुपैयाँबराबरको एक सय ३८ किलो सुन तस्करी गरेको खुलेको थियो । उनीहरूले सबै आर्थिक कारोबार हुन्डी र क्रिप्टोमार्फत गरेका थिए । घटनामा हुन्डी कारोबारी बिमल पोद्दारसमेत संलग्न रहेको खुलेको थियो । घटनाले जटिल मोड लिएपछि बाँकी अनुसन्धान सिआइबीलाई गर्न दिइएको थियो । सिआइबीले अहिले घटनामा जोडिएका विना गुरुङ, डिबी गुरुङ, बिमल पोद्दारलगायतका प्रतिवादीको खोजी गरिरहेको जनाएको छ ।

मुख्य नाइके डाओजिन भने अझै फरार
चीनको सिचुवान प्रान्तका डाओजिन अहिले फरार छन् । उक्त घटनामा पक्राउ २९ प्रतिवादीविरुद्धको मुद्दा अदालतमा विचाराधीन छ । भन्सार कार्यालयका अनुसार गुरुङको संलग्नता विमानस्थलबाट इसिगरेट(भेप)मा लुकाई गरिएको साढे नौ किलो सुन तस्करीमा रहेको देखिएको छ । १० पुस ०७९ मा फ्लाई दुबईको जहाज हुँदै अन्तर्राष्ट्रिय विमानस्थल झरेका चिनियाँ नागरिक ली हानसोङ इसिगरेट(विद्युतीय चुरोट)सहित पक्राउ परेका थिए । अनुसन्धानपछि इसिगरेटभित्र सुन रहेको खुलेको थियो । 

भन्सारका निर्देशक पौडेलले भने, ‘भेपभित्र लुकाई तस्कर गरिएको सुन प्रकरणमा पनि गुरुङको संलग्नता देखिन्छ । घटनामा संलग्न रहेका अभियुक्तसँग उनको राम्रै उठबस रहेको जस्तो अनुसन्धानबाट खुलेको छ ।’

गुरुङ डिल्लीबजारस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष हुन् । १४ किलो सुन तस्करी घटना अनुसन्धान गर्न गठित समितिले तयार परेको प्रतिवेदनमा गुरुङको नाम र उनको भूमिका उल्लेख्य छ । प्रतिवेदनअनुसार विमानस्थलबाट तस्करी भई आएको सुन उनले डिबी भनिने दानबहादुर गुरुङ र मीन घलेमार्फत बुझ्थे । र, उक्त सुन भारतीय नागरिक अंकित अग्रवाललाई लगेर बुझाउँथे । भन्सार कार्यालयले उनको सिडिआर(कल डिटेल रिपोर्ट) अध्ययन गरिरहेको छ । 

गत २१ मंसिरमा विमानस्थलस्थित भन्सार कार्यालय र नेपाल प्रहरीको संयुक्त टोलीले १४ किलो सुनसहित चन्द्रबहादुर घलेलाई पक्राउ गरेको थियो । उनकै बयानका आधारमा प्रहरीले तस्करका मुख्य व्यवस्थापक मीनबहादुर घलेलाई प्रहरीले धुम्बाराहीबाट पक्राउ गरेको थियो । त्यसपछि घटनामा संलग्न कृष्णकुमार श्रेष्ठ, शेरबहादुर बस्नेत, लोकबहादुर तामाङ, राधाकृष्ण श्रेष्ठ, रमेश देउला र अनिल श्रेष्ठ पक्राउ परेका थिए । 

सुझावित समाचार