एक साधु आफ्ना शिष्यका साथ कुम्भ मेलाको भ्रमणमा थिए । भ्रमणका क्रममा उनले एक बाबाले आँखा चिम्लेर माला जपिरहेको देखे । ती बाबा पटक–पटक आँखा खोलेर यात्रुले कति दान दिएछन् भनेर हेर्दै थिए । यो सब देखेपछि साधु मुसुक्क मुस्कुराएर अघि बढे ।
केहीअघि पुगेपछि उनले वरिपरि चेलाहरूलाई राखेर एक पण्डितले भागवत पाठ गरिरहेको देखे । पण्डितको अनुहार यन्त्रवत् थियो । उनको शब्द र भावबीच कुनै संगति थिएन । पण्डितलाई देखेर साधु खितखिताउँदै हाँसे र अघि बढे । अलिकति अघि पुगेपछि उनले एक व्यक्तिलाई रोगीको सेवा गरिरहेको अवस्थामा देखे । ती व्यक्तिले रोगीको घाउ मनतातो पानीले धोएर सफा गरिरहेका थिए । उनले आफ्नो मिठो बोलीले ती रोगीलाई वेलावेलामा सान्त्वना पनि दिइरहेका थिए । यो देख्दा साधुका आँखा रसाए । उनी चेलाहरूले नदेखून् भनेर अर्कापट्टि फर्केर आँसु पुछेर अघि बढे ।
केही समय कुम्भ मेलाको दृश्यावलोकनपछि साधु र उनका शिष्य आश्रम फर्किए । आश्रम पुगेपछि उनका एक शिष्यले हात जोडेर प्रश्न गरे– गुरुदेव, मेलामा घुम्दै गर्दा माला जपेको र भागवत पाठ गरेको स्थानमा हजुर हाँस्नुभयो । पछि रोगीको सेवा गरिरहेको स्थानमा पुग्दा भने रुनुभयो । यसको कारण के हो ? हामी यसको रहस्य थाहा पाउन चाहन्छौँ ।
शिष्यको जिज्ञासा सुनेपछि साधुले भने– मेला भ्रमणको क्रममा मैले जे देखेँ, तिमीहरूले पनि सायद त्यही देख्यौ । पहिलो दुई स्थानमा भगवान्का नाममा आडम्बरसिवाय केही थिएन । त्यसैले, उनीहरूको आडम्बर देखेर मलाई हाँसो उठ्यो । तर, जब मैले ती रोगीको सेवामा खटिएका व्यक्तिलाई देखेँ, तब उनको सेवाप्रतिको समर्पण देख्दा मेरा आँखा आँसुले डम्म भरिए । यथार्थमा धर्मको मर्म मानवसेवा नै हो । तेस्रो व्यक्ति यस तथ्यबाट पूर्णतः परिचित थिए । त्यसैले, उनी भगवान्का सच्चा भक्त हुन् ।