नेपाली कला, साहित्य र संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित पर्यटकीय नगरी पोखरामा आज बिहीबारदेखि सूर्य नेपाल गाथा नेपाल लिटरचेर फेस्टिभलको ११औँ संस्करण सुरु हुँदै छ । बुकवर्म फाउन्डेसनको आयोजना तथा सूर्य नेपाल प्रालिको उपक्रम सूर्य नेपाल गाथाको मुख्य प्रायोजन र पोखरा महानगरपालिका प्रवर्द्धक रहेको फेस्टिभल पोखराको प्रमुख पर्यटकीय स्थल लेकसाइडस्थित फेवाताल किनारको बाराहीघाटमा ७ फागुनसम्म चल्नेछ ।
फेस्टिभलको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्थाका केशवशरण लामिछानेले जानकारी दिए । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेस्टिभलको उद्घाटन गर्नेछन् । उद्घाटनलगत्तै पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले ‘संविधान र सुशासन’ विषयमा विद्वत् प्रवचन दिनेछन् । त्यसपछि पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा कार्टुनिस्ट दुर्गा बरालको ‘वात्स्यायन एन्ड हिज बाब्रस’ भोल्युम २ पुस्तक लोकापर्णसँगै कार्टुन प्रदर्शनी हुनेछ । गोर्खा वुमन, दृश्य कला प्रदर्शनीसँगै कुमार नगरकोटीको रिसाइटेसन विथ कुटुम्ब (काव्यिक एवं सांगीतिक प्रस्तुति)सँगै पहिलो दिनको कार्यक्रम सम्पन्न हुने लामिछानेले जानकारी दिए ।
सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको प्रांगणबाट सुरु फेस्टिभल सन् २०१६ देखि पोखरामा आयोजना हुँदै आएको फेस्टिभलमा देश–विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, गजलकार, कलाकार, सम्पादक एवं विशिष्ट व्यक्तित्वको उपस्थिति रहनेछ । पाँचदिने फेस्टिभलमा ५५ भन्दा बढी सेसनमा विविध विषयमा छलफल हुनेछन् भने प्रत्येक दिन सांगीतिक साँझ र थप रोचक सामग्रीसमेत समावेश गरिने लामिछानेले जानकारी दिए ।
फेस्टिभलमा विश्वप्रसिद्ध पुस्तक ‘अमेरिकन प्रोमिथियस : द ट्रायम्फ एन्ड ट्र्याजिडी अफ जे रबर्ट ओपनहाइमर’का सहलेखक काई बर्ड, प्रसिद्ध भारतीय लेखिका ज्यानिस प्यारियट, विश्वप्रसिद्ध समालोचक एवं उपन्यासकार चन्द्रहास चौधरीलगायतका विदेशी श्रष्टा आउने आयोजक संस्थाका भरत कोइरालाले जानकारी दिए ।
फेस्टिभलका निर्देशक नीरज भारीले यस्ता फेस्टिभलमा हुने सामाजिक बहस र विमर्शले देशका उच्चपदस्थ व्यक्ति एवं सरोकारवालालाई जवाफदेही बनाउन सघाउने बताए । साथै सचेत समाज निर्माणमा पनि यसले विशेष भूमिका निर्वाह गर्ने भारीको भनाइ थियो । ‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ सुरु भएको फेस्टिभलले कला, साहित्यको मात्रै प्रवर्द्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदै आएको आयोजकको अनुभव रहेको उनले सुनाए ।