प्रमिला दमाईंको हत्या आरोपी कुमार श्रेष्ठ पक्राउ

मंगलबार, १ फागुन, २०८०
डिजिटल संस्करण

जिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौं महानगरपालिका– ९ गौशाला रुञ्चे डाँडास्थित सिराहा–धनुषा होटेल एन्ड लजमा मृत अवस्थामा फेला परेकी रामेछाप लिखु तामाकोसी गाउँपालिका– ५ की २८ वर्षीया प्रमिला दमाईंका हत्या आरोपीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दोलखा बैतेश्चर गाउँपालिका– ७ का ३८ वर्षीय कुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए।

उनले भने, ‘पक्राउ परेका श्रेष्ठको प्रमिलासँग विगत एक वर्षदेखि प्रेम सम्बन्ध रहेको र उनीहरूका परिवारमा विवाद उत्पन्न भएपछि कुमारले प्रमिलाको हत्या गरेको अनुमान गरिएको छ। श्रेष्ठलाई प्रहरीले आज काठमाडौंको बुद्धनगरबाट पक्राउ गरेको छ।’ 

यही २७ माघमा मृत अवस्थामा फेला परेकी प्रमिलाको विवाहेत्तर सम्बन्धका कारण हत्या भएको हुन सक्ने जानकारी प्रहरीले यसअघि नै दिएको थियो । मृतक प्रमिला श्रीमान् नसे दमाईंसँग काठमाडौंमा डेरामा बस्दै आएको खुलेको पनि प्रहरीले जनाएको छ।

प्रमिला र कुमारबीच दोलखाको एक रेडियो कार्यक्रममार्फत चिनजान भएको र दुवै विवाहित रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ। 

सुझावित समाचार