खाँदबारी नगरस्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि हिमालय माविले जित्यो

आइतबार, २८ माघ, २०८०
डिजिटल संस्करण

संखुवासभाको खाँदबारी नगरपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि हिमालय माध्यमिक विद्यालयले जितेको छ।

शनिबार भएको फाइनल खेलमा हिमालय माविले २४ स्वर्ण, नाै रजत र १० कांस्यसहित उपाधि हात पारेको हो। प्रतियोगितामा मनकामना मावि तुम्लिङटारले १८ स्वर्ण, १३ रजत र नाै कांस्यसहित दोस्रो स्थानमा चित्त बुझाउँदा सूर्य आवासीय माविले १४ स्वर्ण, तीन रजत र ३ कांस्यसहित तेस्रो स्थान हासिल गरेको छ।

प्रतियोगितामा नगरभित्रका १९ वटा माध्यमिक विद्यालयहरूले सहभागिता जनाएका थिए। जसमा १३ वटा सामुदायिक र ६ वटा संस्थागत विद्यालयले सहभागिता जनाएका खाँदबारी नगरपालिका शिक्षा शाखा प्रमुख दीपकमणि घिमिरेले बताए।

खेलाडीलाई शनिबार एक कार्यक्रमबीच खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले पुरस्कार वितरण गरेका थिए।

प्रतियोगिता खाँदबारी नगरपालिका– ७ स्थित खाँदबारी रंगशालामा सञ्चालन भएको थियो। प्रतियोगितामा भलिबल, कबड्डी, सटपुट, लङजम्प, ज्याभलिङ थ्रो, दौडलगायतका खेलहरू सञ्चालन गरिएको थियो।

सुझावित समाचार