उत्कृष्ट विधामा क्रिकेट र एथलेटिक्सको दबदबा

२८ माघमा आयोजना हुने अवार्डको शुक्रबार चार व्यक्तिगत विधातर्फ तीन खेलाडी समेट्दै अन्तिम मनोनयन सार्वजनिक

शनिबार, २७ माघ, २०८०
डिजिटल संस्करण

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड ०७९ को वर्ष उत्कृष्ट प्रशिक्षक, पुरुष र महिला खेलाडीको अन्तिम मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले २८ माघमा आयोजना गर्ने अवार्डको शुक्रबार चार व्यक्तिगत विधातर्फ तीन खेलाडी समेट्दै अन्तिम मनोनयन सार्वजनिक गरेको हो । यसपटक पहिलो चरणमा चार विधाका समान आठजनालाई मनोनयनमा राखिएको थियो । मञ्चको खेलाडी छनोट समितिले अन्तिम मनोनयनको घोषणा गरेको हो । यसमा क्रिकेट र एथलेटिक्सले दबदबा राखेका छन् । 

पुरुष :  वर्षको उत्कृष्ट पुरुष विधामा तीनजना खेलाडी सार्वजनिक हुँदा क्रिकेटका दुईजना परेका छन् । थप एकजना एथलेटिक्स खेलाडी हुन् । क्रिकेटबाट आसिफ सेख र कप्तान रोहितकुमार पौडेल छनोटमा परे । एथलेटिक्सका दीपक अधिकारी रहेका छन् । गत वर्ष रोहितको कप्तानीमा नेपालले आइसिसी विश्वकप लिग–२ मा १२ मध्ये ११ खेल जित्दै एकदिवसीय मान्यता रक्षा गरेको थियो । रोहितले ०७९ को वर्षमा २७ एकदिवसीयमा चार अर्धशतकसँगै ६ सय ७९ रन जोडेका थिए । यसैगरी, शेखले एकदिवसीय खेलमा एक हजार ९३ रन जोडे । उनले लिग–२ मा पपुवा न्युगिनीविरुद्ध एक सय १० रन बनाए । एथलेटिक्सका अधिकारीले एसियाली क्रस कन्ट्रीमा दुई स्वर्ण र घरेलु प्रतियोगितामा चार स्वर्ण हात पारेका थिए । उनले १६औँ एसियाली क्रस कन्ट्रीअन्तर्गत १० किमिमा स्वर्ण हात पारे । नवौँ राष्ट्रिय खेलकुदमा समेत उनले १० किमिमा शीर्ष स्थान रक्षा गरे । 

महिला :  यस विधामा एथलेटिक्सका दुई र बास्केटबलबाट एकजना खेलाडी अन्तिम छनोटमा परेका छन् ।बास्केटबलकी अनुशा मल्लले माल्दिभ्समा भएको साबा महिला च्याम्पियनसिपमा रजत जितेकी थिइन् । नेपालले खेलेका तीनमध्ये दुई खेलमा सर्वाधिक स्कोरकर्ता बनेकी थिइन् । यसैगरी, एथलेटिक्सकी पुष्पा भण्डारीले बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण हात पारेकी थिइन् । उनले सहारा र कान्तिपुर हाफ म्याराथनमा रजत जितेकी थिइन् । एथलेटिक्सकै राजपुरा पछाईले १६औँ एसियन क्रसकन्ट्री च्याम्पियनसिप १० किमिमा रजत पदक हात पारिन् । वीर गणेशमान सिंह र धरान १० किमि रोड रेसमा उनले स्वर्ण जितिन् । कान्तिपुर, पोखरा, लुम्बिनी, इलाम माइपोखरी र प्रधानसेनापति हाफ म्याराथनमा उनी स्वर्ण विजेता खेलाडी हुन् ।

 प्रशिक्षक :  मञ्चले सार्वजनिक गरेको वर्षको उत्कृष्ट प्रशिक्षकमा चन्द्र गुरुङ (एथलेटिक्स), बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमाटा अन्तिम तीन सूचीमा परेका छन् । गुरुङको प्रशिक्षणमा नेपालले १६औँ एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा दुई स्वर्ण जितेको थियो । बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा नेपालले  एक स्वर्ण र दुई कांस्य जित्दाका उनी नै प्रशिक्षक थिए । यसैगरी, बक्सिङमा महर्जनको प्रशिक्षणमा नेपालले एएसबिसी यू–२२ एसियाली महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपमा एक रजत र तीन कांस्य पदक हात पारेको थियो । सो च्याम्पियनसिपमा सुष्मा तामाङले रजत जितेकी थिइन् । यसैगरी, क्रिकेटका टमाटाको प्रशिक्षणमा नेपालले आइसिसी यू–१९ विश्वकप क्रिकेटमा नेपाललाई आठ वर्षपछि स्थान बनाएको थियो । 

युवा :  यस विधामा क्रिकेटका देव खनाल, एथलेटिक्सकी राममाया बुढा र बक्सिङकी सुष्मा तामाङ अन्तिम मनोनयनमा परेका छन् । क्रिकेटका देवको कप्तानीमा नेपालले आठ वर्षपछि यू–१९ विश्वकपमा स्थान सुरक्षित गरेको थियो । उनकै कप्तानीमा नेपालले युएईलाई फाइनलमा पराजित गरी एसिया छनोटको उपाधि जितेको थियो । उनले पाँच खेलमा एक सय ९७ रन जोडेका थिए । यसैगरी, एथलेटिक्सकी राममायाले १६औँ एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा जुनियर व्यक्तिगत र टिम इभेन्टमा रजत हात पारेकी थिइन् । 

उनले एपिएफ परिवार महिला संघ हाफ म्याराथनमा स्वर्ण जितेकी थिइन् । गोल्डेन एथलेटिक्स मिटको १५ सय मिटर दौडमा स्वर्ण जितेकी राममाया देवदह हाफ म्याराथनमा शीर्ष स्थानमा रहिन् । यसैगरी, बक्सिङकी सुष्माले गत वर्ष एएसबिसी यू–२२ एसियन महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रूपमा रजत जितेकी थिइन् । नेपालले एसियालीस्तरमा जितेको अहिलेसम्मको ठूलो पदक हो । एएसबिसी यू–२२ च्याम्पियनसिपमा रजत जितेपछि उनी सीधै महिला वल्र्ड बक्सिङ च्याम्पियनसिपमा छनोट भइन् । नवौँ राष्ट्रिय खेलकुदमा महिला ४८ केजी तौलमा बागमती प्रदेशका लागि उनले स्वर्ण हात पारेकी थिइन् । 

सुझावित समाचार