इटहरी उपमहानगरपालिकाले नगरभित्रका सबै विद्यालयमा एउटै पोसाक लागू गर्ने भएको छ। विद्यार्थीबीच बढ्दै गएको असमानतालाई मध्यनजर गरेर नयाँ शैक्षिक सत्रका लागि अभिभावकले विद्यालय पोसाक खरिद गर्ने वेला इटहरी उपमहानगरले यस्तो निर्णय गरेको हो।
नगर शिक्षा समिति इटहरीले विद्यार्थीको पोसाकमा विविधता देखिएको भन्दै एकरूपता ल्याउन बिहीबार यस्तो निर्णय गरेको हो। ‘इटहरीभित्रका निजी तथा सबै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले एकैखालको पोसाक लगाउनुपर्ने गरी नियम बनाएका छौँ,’ इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेलले भने, ‘विद्यालयमा टाई हटाएर भादगाउँले टोपी लगाउने निर्णय गरेका छौँ।’ पौडेलका अनुसार अब इटहरीका विद्यालयमा टाई देख्न पाइनेछैन।
‘पोसाक देखेर इटहरीका विद्यालयको विद्यार्थी रहेछ भनेर सबैले चिनून् भन्ने उद्देश्य पनि हो,’ पौडेलले भने, ‘निजी स्कुलहरूले पोसाक पनि बढी मूल्यमा आफ्नै स्कुलबाट बिक्री गर्ने गरेका छन्, त्यो रोक्ने हाम्रो अभियान पनि हो।’ साथै उपमहानगरका कर्मचारी र जनप्रतिनिधिहरूका छोराछोरी अनिवार्य रूपमा सरकारी विद्यालयमा नै पढाउनुपर्नेसमेत निर्णय भएको छ।
निर्णयअनुसार स्कुलहरूले आफ्नो लोगो भने राख्न पाउनेछन् । निजी स्कुलहरूले आफैँले मोजा र टाईसमेत बिक्री गर्ने गरेको गुनासो आउन थालेपछि त्यस्ता कदम रोक्ने निर्णय गरिएको उपमहानगरको भनाइ छ। विद्यालयमातहतमा कुनै स्टेसनरी बेच्न नपाइने र भर्ना शुल्कबापत एकपटक लिएपछि सो विद्यालयमा पढ्ने विद्यार्थीसँग सोही शीर्षकमा पटकपटक कक्षा चढ्दा भर्ना शुल्क लिन पाइनेछैन।
विद्यालय आफैँले किताब बेच्न नपाउने
विद्यालय आफैँले किताब बेच्ने गरेको गुनासो बढेपछि इटहरी उपमहानगरपालिकाले विद्यालय आफैँले किताब बेच्न नपाउने निर्णय पनि गरेको छ। विद्यालय हाताभित्रबाट पाठ्यपुस्तक तथा शैक्षिक सामग्री बिक्री–वितरण गर्न रोक लगाइएको हो। उपमहानगरभित्र सञ्चालित विद्यालय शिक्षालाई व्यवस्थित तथा प्रभावकारी बनाउन बैठकले यो निर्णय गरेको नगरप्रमुख पौडेलले बताए।
इटहरीमा एक सय ३४ निजी र ३६ सामुदायिक गरी कुल एक सय ७० वटा विद्यालय छन्। सबै विद्यालयमा गरी कुल ६३ हजार पाँच सय २६ विद्यार्थी अध्ययनरत छन्।