विश्वविद्यालय खेलकुदमा टियू च्याम्पियन

बुधबार, २४ माघ, २०८०
डिजिटल संस्करण

त्रिभुवन विश्वविद्यालय (टियू)ले प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । प्रतियोगितामा समावेशमध्ये २३ मध्ये टियूले सर्वाधिक १८ स्वर्ण जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो । च्याम्पियन टोलीले थप आठ रजत र तीन कांस्य पनि हात पारेको छ । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा आयोजित प्रतियोगितामा सुदूरपश्चिम विश्वविद्यालय तीन स्वर्ण, चार रजत र नौ कांस्यसाथ उपविजेता भयो । तेस्रो स्थान हात पारेको लुम्बिनी बौद्ध विश्वविद्यालयले एक स्वर्ण तथा समान दुई रजत र कांस्य जित्यो । नेपाल संस्कृत विश्वविद्यालयले एक स्वर्ण, समान एक रजत र कांस्य हात पार्यो । दशरथ रंगशालामा मंगलबार भएको सय मिटर दौडको पुरुषमा सुदूरपश्चिमका मुकेश विष्ट र महिलामा लुम्बिनीकी अनिशा कुँवर क्षेत्री पहिलो भए । 

सटपुटको पुरुषमा टियूका वीरेन्द्र कुँवर र महिलामा टियूकी सञ्चिता घिमिरेले स्वर्ण हात पारे । आठ सय मिटर दौडको पुरुषमा टियूका विकेश घिमिरे र महिलामा टियूकी राज्यलक्ष्मी राउतले स्वर्ण जिते । ब्याडमिन्टनमा टियूकै वर्चस्व रह्यो । टियूले पाँचमध्ये चारमा चार स्वर्ण जित्यो । सुदूरपश्चिमले एक स्वर्ण हात पार्यो । टेबलटेनिसको पुरुष एकलमा गनन्जय दाहाल तथा महिलामा लस्ता महर्जनले स्वर्ण जिते । दुवै टियूका खेलाडी हुन् ।

पुरुष भलिबलको उपाधिमाथि पनि टियूले नै कब्जा गर्यो । फाइनलमा टियूले मध्यपश्चिम विश्वविद्यालयलाई २–० को सोझो सेटमा पाखा लगायो । 

सुझावित समाचार