- नेपालले टेस्ट मान्यताप्राप्त राष्ट्रहरू भारत, पाकिस्तान, वेस्ट इन्डिज, आयरल्यान्ड र जिम्बावेसँग प्रतिस्पर्धा गरिसकेको छ ।
- नेपाल ५९ अन्तर्राष्ट्रिय एकदिवसीयमध्ये ३० मा जित र २७ खेलमा पराजित भएको छ । एक खेल ‘नो रिजल्ट’ एकमा बराबरी नतिजा छ ।
नेपाल र क्यानडाबीच त्रिवी क्रिकेट मैदानमा एकदिवसीय सिरिज बिहीबार सुरु हुँदै छ । एकदिवसीय खेल इतिहासमा क्यानडा १३औँ प्रतिद्वन्द्वी हो । टेस्ट मान्यताप्राप्त राष्ट्रहरू भारत, पाकिस्तान, वेस्ट इन्डिज, आयरल्यान्ड र जिम्बावेसँग नेपालले प्रतिस्पर्धा गरिसकेको छ । भारत र पाकिस्तानविरुद्ध नेपालले एसिया कपमा प्रतिस्पर्धा गरेको थियो । सन् २०२३ को एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा नेपालले जिम्बावे र वेस्ट इन्डिजविरुद्ध खेलेको थियो ।
नेपाल टेस्ट राष्ट्रविरुद्ध जितविहीन छ । नेपालले त्रिवि क्रिकेट मैदानमा क्यानडाविरुद्ध तीन खेल खेल्नेछ । यसअघि पनि नेपाल र क्यानडाबीच खेल भएको थियो । सन् २०२२ मा नेपालले आइसिसी विश्वकप लिग–२ को तयारी स्वरूप क्यानडाको भ्रमण गरेको थियो । त्यसवेला क्यानडाले एकदिवसीय मान्यताप्राप्त गरेको थिएन । यसै वर्ष मात्र आइसिसीले क्यानडालाई एकदिवसीय मान्यता प्रदान गरेको थियो । नेपाल र क्यानडाबीचको खेलले अन्तर्राष्ट्रिय मान्यताप्राप्त छ ।
५९ मध्ये ३० खेलमा नेपाल विजयी
सन् २०१८ मा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त गरेको थियो । नेपाललाई एकदिवसीय मान्यता दिलाउने कप्तानका रूपमा वर्तमानमा नेपाल क्रिकेट संघका सचिव पारस खड्का थिए । गत वर्ष नेपाल आइसिसी विश्वकप लिग–२ को तेस्रो स्थानमा रहेसँगै एकदिवसीय मान्यता रक्षा गरेको थियो । नेपालले अहिलेसम्म एकदिवसीय राष्ट्रका रूपमा ५९ अन्तर्राष्ट्रिय खेल खेलेको छ । जसमध्ये नेपालले ३० खेलमा जित निकालेको छ । नेपाल अहिलेसम्म २७ एकदिवसीय खेलमा पराजित भएको छ । एक खेल बराबरी र एक खेल रद्दका रूपमा नेपालले नतिजा व्यहोरेको थियो ।
नेपालले क्यानडासँग आफ्नो ६०औँ एकदिवसीय खेल खेल्नेछ । नेपालले एसोसिएटतर्फका एकदिवसीय मान्यताप्राप्त राष्ट्रमध्ये युएईविरुद्ध सर्वाधिक १५ खेल खेलेको छ । त्यसपछि पपुवा न्युगिनीसँग १० खेल खेल्यो । अमेरिका र ओमानसँग समान सात खेल नेपालले खेल्दा नेदरल्यान्ड्ससँग तीन खेल खेल्यो । नेपालले नामिबिया र स्कटल्यान्डसँग समान ६ खेल खेलेको छ ।
चार विश्वकप खेलिसकेको क्यानडा
एकदिवसीय खेलमा नेपालको नयाँ प्रतिद्वन्द्वी क्यानडाले सन् १९६८ मा आइसिसीको एसोसिएट सदस्य प्राप्त गरेको थियो । क्यानडाले सन् १९७९ मा पाकिस्तानविरुद्ध लिड्समा पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो । सन् २०२३ को ५ अप्रिलमा क्यानडाले अन्तिमपटक पपुवा न्युगिनीसँग खेल्यो । क्यानडाले लगभग एक वर्षपछि एकदिवसीय खेल खेल्न लागेको हो ।
अहिलेसम्म क्यानडाले आफ्नो एकदिवसीय इतिहासमा ८० अन्तर्राष्ट्रिय खेल खेलेको छ । जसमा २० मा जित र ६० खेलमा हारको सामना गरेको छ । सन् १९७९ मा क्यानडाले पहिलोपटक एकदिवसीय विश्वकप खेलमा सहभागिता जनायो । विश्वकप इतिहासमा क्यानडाले चारपटक सहभागिता जनाएको छ । सन् १९७९, २००३, २००७ र २०११ को संस्करणमा क्यानडाले खेलेको थियो । क्यानडा चारै विश्वकप सहभागीको पहिलो चरणबाटै बाहिरिएको थियो । सन् २००३ को विश्वकपमा क्यानडाले बंगलादेशलाई ६० रनले हराएको थियो । सन् २००६ देखि भने क्यानडाले अस्थायी एकदिवसीय मान्यता पायो । क्यानडाले सन् २०१४ मा एकदिवसीय मान्यता गुमाएको थियो ।
अन्तर्राष्ट्रिय सिरिजमा व्यस्त नेपाल
आउने केही महिना नेपाली राष्ट्रिय क्रिकेट टोली अन्तर्राष्ट्रिय खेलमा व्यस्त हुनेछ । नेपालले पहिलो क्यानडासँग एकदिवसीय खेल खेल्नेछ । त्यसपछि हङकङ र मलेसियासँग अन्तर्राष्ट्रिय टी–२० खेलमा नेपाल सहभागी हुनेछ । आइसिसी विश्वकप लिग–२ को एकदिवसीय सिरिजमा नेपालले नामिबिया र नेदरल्यान्ड्सको सामना गर्नेछ । नेपालले वेस्ट इन्डिज र अमेरिकामा हुने आइसिसी टी–२० विश्वकपको तयारीस्वरूप तीन अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ ।
नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग समान दुई एकदिवसीय खेल्नेछ । यसैगरी, नेपालले नेदरल्यान्ड्स र नामिबियासँग टी–२० सिरिज खेल्नेछ । टी–२० विश्वकप २०२४ मा नेपाल समूह ‘डी’मा छ । नेपालले आफ्नो समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्सको सामना गर्नेछ । नेपालले नेदरल्यान्ड्ससँग अमेरिकाको डालास र श्रीलंकासँग फ्लोरिडामा खेल्नेछ । दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेल वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा रहेको छ ।