हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीको मार्ग निर्माण तीव्र, आगामी वर्ष पूरा हुने

बुधबार, २४ माघ, २०८०
डिजिटल संस्करण

बागमती प्रदेशको राजधानी हेटौँडा र संघीय राजधानी काठमाडौं जोड्ने छोटो दूरीको सडकमार्ग स्तरोन्नति तथा निर्माण कार्यले यसपटक तीव्रता पाएको छ । हेटौँडा–भैँसे–भीमफेदीबाट कुलेखानी–फाखेल हुँदै हुमाने फर्पिङसम्मको सडकखण्डको कामले पछिल्लो समय भने गति लिएको हो । 

गत साता मात्रै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले यस सडकखण्डको स्थलगत अवलोकन गरी निर्माण कम्पनीलाई चाँडोभन्दा चाँडो काम सक्न निर्देशन दिएका थिए । हेटौँडाबाट भीमफेदी, फाखेल हुँदै हुमाने फर्पिङसम्मको ३३.५ किलोमिटर लम्बाइको उक्त सडक निर्माण धमाधम भइरहेको यातायात पूर्वाधार विकास निर्देशनालय हेटौँडाका सूचना अधिकारी हरि ओझाले जानकारी दिए । 

हेटौँडाबाट भैँसे ११ किलोमिटर र फर्पिङबाट बल्खुसम्मको सडक कालोपत्रे रहेकाले सोबाहेकका क्षेत्रको निर्माण कार्य भइरहेको छ । सो सडक निर्माणका लागि प्रदेश सरकारमातहका कार्यालयबाट एक अर्ब १४ करोड २४ लाख बजेट रहेको सूचना अधिकारी ओझाले बताए । उक्त सडक निर्माणका लागि पाँचवटा प्याकेजमा ठेक्का सम्झौता गरी काम भइरहेको छ । ११.५ किलोमिटर लम्बाइको उक्त सडकखण्डको विस्तार तथा स्तरोन्नतिसहित कालोपत्रे गर्ने योजनाअनुसार निर्देशनालयले ३८ करोड ७६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।  

आगामी फागुनभित्रमा सम्पूर्ण भाग कालोपत्रे गर्ने लक्ष्यअनुसार काम भइरहेको सूचना अधिकारी ओझाले बताए । आगामी चैत २३ गतेसम्मको म्याद रहेको उक्त खण्डको ठेक्का सम्झौतासमेत संशोधन गरी बजेटसमेत बढाइएको हो । उक्त खण्डमा केही थप संरचनाहरू निर्माण गर्नुपर्ने भएकाले सम्झौता रकमलाई २४ करोड ६५ लाख रुपैयाँ पु¥याइएको ओझाको भनाइ छ । 

यता सो सडकको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानी–फाखेल खण्डको ठेक्का भने केही समयअघि मात्र भएको छ । ढिलो ठेक्का लागेको १६ किलोमिटर लम्बाइको उक्त खण्डमा हाल सडक विस्तारको काम भइरहेको सूचना अधिकारी ओझाले जानकारी दिए । उक्त खण्डको काम पूर्वाधार विकास कार्यालय चितवनबाट कार्यान्वयन भइरहेको छ । ०८२ वैशाख १६ मा निर्माण सम्पन्न गर्नुपर्ने उक्त सडकखण्डको निर्माणका लागि ३५ करोड ४८ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको हो ।

यसै सडकखण्डको काडमाडौंतर्फ भने तीनवटा ठेक्का सम्झौता गरी काम भइरहेको छ । काठमाडौंको दक्षिणकाली नगरपालिकाअन्तर्गत पर्ने ललितपुरमार्फत ठेक्का सम्झौता गरी काम भइरहेको सूचना अधिकारी ओझाले बताए । उक्त सडकखण्डको हुमानेदेखि मगर गाउँसम्मको प्याकेजको काम अन्तिम चरणमा पुगेको उनको भनाइ छ । 

जम्मा चार किलोमिटर लम्बाइको उक्त खण्डको केही भागमा मात्र कालोपत्रे गर्न बाँकी छ । १४ करोड ७४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरी भइरहेको काम अब एक हप्ताभित्रै सम्पन्न हुने उनले बताए । यसैगरी, मगर गाउँदेखि टुल्के मोडसम्मको चार किलोमिटर सडक निर्माणका लागि अर्को प्याकेजमा सम्झौता गरी काम भइरहेको छ ।

हाल सो खण्डमा कालोपत्रे गर्ने तयारी भइरहेको छ भने सो खण्डको निर्माणका लागि कार्यालयले १२ करोड ३२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ । सोही सडकखण्डको टुल्के मोडदेखि फर्पिङसम्मको सडक निर्माणका लागि ठेक्का सम्झौता भई काम भइरहेको छ । साउन १ गतेसम्ममा काम सक्ने गरी सम्झौता भएको र हाल सडक विस्तार कार्य चलिरहेको सूचना अधिकारी ओझाले बताए । 

सुझावित समाचार