पूजाले झस्काएको कार्कीगाउँको कहालीलाग्दो दिन

मंगलबार, २३ माघ, २०८०
डिजिटल संस्करण

‘हाम्रो माया सायद भगवानलाई रुचि थिएन होला । त्यसैले मबाट मेरी मम्मी र बहिनीलाई खोसियो । सायद आज मम्मी भएको भए यस्तो हुँदैनथ्यो होला । आज पनि एक्लै छु र भोलि पनि एक्लै हुनेछु । त्यसैले मम्मी र बहिनीलाई लामो सम्झना । म त अभागी न आमाको साथ न त साथी र दिदीबहिनीको नै । अरू मावल (मामाघर) जाँदा हाम्रो मन पिटिक्कै भाँचिन्छ । सायद आज मम्मी भएको भए म पनि जान्थेँ होला मावल । अरूले मम्मी भनेर बोलाउँदा मलाई पनि लाग्दो हो मम्मी र बहिनी भनेर बोलाउन । सायद भाग्यमै छैन होला मम्मी र बहिनी भन्ने शब्द ।’ 

विद्यालयको गृहकार्य कपीमा आमा र बहिनीको तस्बिर बनाएर पूजा कार्कीले लेखेको मर्माहत शब्दहरू सञ्जालमा सार्वजनिक भएका छन् । उनले बनाएको तस्बिर र लेखाइले कार्कीगाउँलाई फेरि स्तब्ध बनाएको छ । कतिपयले त्यो दिन बिर्सिएका पनि थिए होला । तर, पूजाले झस्काइन् । ०७६ साल मंसिर १७ गते कुलपूजाका लागि इस्मा गाउँपालिका–४ बाट बागलुङ हिँडेको जिप दुर्घटना हुँदा १६ जनाले ज्यान गुमाएका थिए । त्यो दुर्घटनाले सिंगो कार्कीगाउँ रित्तो बनायो ।

कैयाैँ बालबालिका अभिभावकविहीन भए । कतिका आफन्त गुमेका थिए । पूजा कार्की अहिले १४ वर्षकी भइन् । उनी दुर्घटनामा आमा र बहिनीले ज्यान गुमाउँदा १० वर्षकी थिइन् । पूजा अहिले देउराली आधारभूत विद्यालयमा कक्षा आठमा अध्ययन गर्छिन् । केही दिनअघि शिक्षक दामु बस्नेतले पूजाको गृहकार्य हेर्दै थिए । अचानक कपीमा एउटा चित्र र केही लेखिएका वाक्य देखे । चित्र र लेखिएका शब्दले बस्नेत आफैँ स्तब्ध भए । त्यसपछि शिक्षक आफैँले तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरे । 

पूजा अहिले आफन्तकोमा बस्छिन् । दुई दिदीबहिनीले बिहे गरे । बुबा परदेश छन् । पूजालाई आमा सीता र बहिनी अनुष्काको सम्झनाले वेलावेलामा पिरोल्छ । ‘आमा र बहिनीको यादले सहनै नसक्ने पीडा दिएपछि रुँदै तस्बिर कोरेँ र केही शब्द लेखेँ । गृहकार्य हेर्दा सरले देखेपछि बाहिर आयो,’ उनले भनिन्, ‘पोख्न नसक्ने कैयौँ यादहरू मुटुभित्रै छन् ।’ पूजा त्यसवेला जान्ने भइसकेकी थिइन् । जुनवेलाको दुर्घटनाले आमा र बहिनी खोस्यो । आमाले मेलापात र अर्मपर्म गरेर घर धानेकी थिइन् । इशा र पूजा आमाका सहयोगी र भरोसा थिए। कोखमा हुर्कँदै गरेकी छोरी च्यापेर कुलपूजामा हिँडेकी आमाले छोरीहरूलाई सम्झाउनसमेत पाइनन् । सायद नफर्किने कल्पना आमाको मनमा थिएन ।

त्यो वेला कार्कीगाउँ
बल्लबल्ल अडिएको कच्ची घर । देख्दै अप्ठ्यारो । सेतो वस्त्रमा कलिलो अनुहार । ढोकैछेउमा टुसुक्क बसेकी थिइन् १६ वर्षीया इशा कार्की । आमा ४२ वर्षीया सीता र दुई वर्षीया बहिनी अनुष्काले सडक दुर्घटनामा ज्यान गुमाएपछि किरियाकर्म इशाको काँध थियो । गुजुप्पको बस्ती । इस्मा गाउँपालिका– ४ को पैयाँपाटा । दुई घरबाहेक सबै कार्कीहरू ।

तीन वर्षमा एकपटक आउने कुलपूजाले सबै परिवार खुसी थिए । देश–परदेशबाट आएका  अभिभावक र छोराछोरीले कार्कीगाउँको उमंग फरक नहुने कुरै थिएन । कुलपूजा ठूलो पर्व नै हो । दुर्भाग्य कार्की गाउँको त्यो खुसी धेरै दिन टिकेन । जिप बागलुङको बडिगाढ गाउँपालिका– ७ मा दुर्घटनामा पर्यो ।

दुर्घटनामा एउटै गाउँका १६ जनाले ज्यान गुमाए । त्यो वेलाको कार्कीगाउँका अधिकांश घर शोकमग्न थिए । केही घरमा दुई–तीनजना नै दुर्घटनामा परेकाले बाँचेकाहरूको अचेत पीडा देख्न नसकिने थियो । त्यो वेला दुर्घटनामा आमा गुमाएपछि एक्लिएका १३ वर्षीय सुनिल र नौ वर्षकी बहिनी रविना देख्दा सबै रुन्थे ।

बुबा चन्द्रदीप बस्नेत परदेश थिए । त्यो समयमा दाजुबहिनीकै अर्धवार्षिक परीक्षा थियो । परीक्षा राम्रो गर्न भन्दै हिँडेकी आमा फर्किनन् । सोही गाउँकै भूमि कार्कीले पनि दुर्घटनामा ज्यान गुमाउँदा पति तिलबहादुर र १६ वर्षीय छोरा विष्णु कार्कीको विक्षिप्तताले देख्नेको मन पोल्थ्यो । २० वर्षमा कुलपूजाका लागि घर आएका महेन्द्र कार्कीले दुर्घटनामा ज्यान गुमाउँदा छोरा १७ वर्षीय मेघराज र १३ वर्षीय प्रेम कार्कीसहित आमाले कति पीडा सहेर भारत फर्किए होलान् ।

कार्कीगाउँका थुप्रै परिवारका आफ्नै कथा र व्यथा छन् । तर, आज पूजाले त्यो दिनको स्मरण सबैलाई गराएकी छिन् । उनको लेखाइमा आमाको अभाव र बहिनीप्रतिको स्नेह देखिएको छ । आमापछि अभिभावक बनेकी दिदीको पनि बिहे भएपछि पूजाले आफूलाई अझै एक्लो महसुस भएको प्रतिक्रिया दिइन् । ‘आमापछिका दिदीहरूले पनि सम्झन छोडेपछि एक्लो र पीडा महसुस गर्छु । मेलापर्वमा आमाकाे धेरै याद आउने रहेछ,’ उनले भनिन्, ‘कसैले वचन लाउँदा पनि सहन नसक्ने भएकी छु ।’
 

सुझावित समाचार