पोखरामा हट एयर बेलुनले पर्यटकलाई नौ हजार फिट माथिसम्म उडाउन अनुमति पाएको छ । यसअघि तीन हजार फिटसम्म मात्र उडान गर्न पाउँथ्यो ।
पोखराको लौरुकदेखि चंखपुर क्षेत्रमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावर फ्रिक्वेन्सी निरन्तर मनिटरिङ गरेर उडान गर्न मन्त्रीस्तरको निर्णयअनुसार अनुमति प्रदान गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एटिसी अधिकृत मुकेश डंगोलले बताए । बेलुनले थप उचाइ लिन पाउने भएपछि अन्नपूर्ण हिमशृंखला, पोखराआसपासका दृश्य र सूर्योदय तथा सूर्यास्त अझ राम्रोसँग देख्न पाउने बेलुन नेपालका अध्यक्ष विक्रम बाडेको भनाइ छ ।
उडानस्थलको प्राविधिक जाँच र हाल उडानमा रहेको बेलुनको उत्पादक कम्पनीको फ्लाइट म्यानुअलसमेतको अध्ययनपछि अनुमति प्राप्त गरेको बाडेले बताए ।
यस्तो हुन्छ हट एयर बेलुन
बेलुन आकारमा देखिने यसको ‘इनभेलप’भित्र पत्ताले हावा भरिन्छ । बेलुन आकारमा आइसकेपछि ग्यासबाट आगो बालेर उक्त हावालाई तताइन्छ । तातो हावा भरिएपछि बेलुनले उचाइ लिन्छ र हावाको गति नियन्त्रण गर्दै पाइलटले उडान गर्छन् । २१ मिटर अग्लो बेलुनको तल्लो भागमा ३२ वर्गमिटरको बास्केट जडित छ । बास्केटमा आठजनाले एकैपटक यात्रा गर्न सक्छन् ।
आधा घण्टा उडानको नेपालीका लागि नौ हजार पाँच सय र तीनदेखि नौ वर्षका बालबालिकाका लागि प्रतिव्यक्ति पाँच हजार रुपैयाँ शुल्क कायम गरिएको छ । भारतीय तथा सार्क मुलुकका नागरिक र अन्य देशका नागरिकका लागि फरक शुल्क रहेको छ ।