चीनमा एउटा कथा प्रचलित छ । एकजना चिनियाँ जैन गुरु आफ्ना शिष्यलाई अध्यात्मका साथसाथै तरबारबाजीको प्रशिक्षण पनि दिने गर्थे ।
एकपटक उनलाई एक उत्साही शिष्यले सोध्छन्, ‘गुरुजी, सबैभन्दा महान् तरबारबाज को हो ?’ गुरु जवाफ दिन्छन्, ‘हेर यस पहाडको पछाडि एउटा ठूलो चट्टान छ । तिमी त्यो चट्टानको एकदमै अपमान गर । तब पनि त्यसले प्रतिक्रिया गरेन भने तिमी ऊमाथि आफ्नो तरबारले प्रहार गर ।’ गुरुको यस्तो कुरा सुनेर त्यस शिष्यले भन्यो, ‘गुरुजी, यसो गर्दा त मेरो तरबार नै भाँचिन्छ नि ! त्यो चट्टानमा त मेरो प्रहारबाट केही पनि असर हुनेछैन ।’
गुरुजी मुस्कुराउँदै बोले, ‘महान् तरबारबाज उही हो, जो त्यो चट्टानको भाँती हुन्छ । उसले आफ्नो तरबार म्यानबाट निकाल्नुअघि नै ऊ अपराजित छ भन्ने कुराको संकेत गरिसकेको हुन्छ । यदि तिमी महान् तरबारबाज बन्न चाहन्छौ भने तिमी पनि त्यो चट्टानजस्तै बन्नुपर्नेछ ।’
हामीले आफ्नो काममा यति मजबुत र पारंगत हुन आवश्यक छ कि त्यहाँ कसैले पनि कुनै गल्ती या कमजोरीको कल्पना गर्न नसकून् ।