देशभर रहेका लायन्स लियोबीच आन्तरिक खुला फुटसल प्रतियोगिता माघ २७ र २८ गते आयोजना हुने भएको छ।
शुक्रबार लायन्स एन्ड लियो क्लब अफ काठमाडौं प्रयासनगरले पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको मिति घोषणा गरेको हो।
दुईदिने प्रतियोगितामा देशभरबाट २० देखि ३० टोली सहभागी हुने क्लबका सचिव नवीन बस्नेतले बताए। ‘हामीसँग ३० भन्दा माथि क्लब छन्। अहिलेसम्म १० क्लबले दर्ता गरिसकेका छन्। धेरैभन्दा धेरैलाई सहभागी गराउँछौँ,’ सचिव बस्नेतले भने। उपत्यकाबाहिर काभ्रे, तनहुँ र पोखराबाट पनि टिम समावेश हुने उनले बताए।
प्रतियोगिता मिड भ्याली कलेज ज्ञानेश्वरको मैदानमा हुनेछ। इच्छुक क्लबले तीन हजार दर्ता शुल्क तिरेर सहभागी हुन पाउनेछन्।
क्लबका अध्यक्ष विराट केसीले सामाजिक कार्यबाट माथि उठेर भाइचारा सम्बन्ध बढाउन फुटसल प्रतियोगिता आयोजना गरेको बताए। उनले भने, ‘हामीले धेरैभन्दा धेरै सामाजिक कार्य गर्दै आएका छौँ। पछिल्लो वर्षदेखि भाइचारा सम्बन्ध बढाउन फुटसल प्रतियोगिता आयोजना थालेका हौँ।’ अपांगता भएका व्यक्तिलाई प्रशिक्षण सीप प्रदान गर्नका लागि केही योगदान गर्ने पनि उद्देश्य रहेको छ।
प्रतियोगिताको विजेताले १५ हजार र उपविजेताले आठ हजार पुरस्कार तथा ट्रफी पाउने अध्यक्ष केसीले बताए। सर्वोत्कृष्ट खेलाडीले दुई हजार पाँच सयसहित ट्रफी पाउनेछन्। प्रतियोगिता आयोजना गर्न अनुमानित डेढ लाख खर्च हुने क्लबले जनाएको छ।
प्रतियोगिताको उद्घाटन २७ गते बिहान साढे १० बजे हुनेछ। उद्घाटन समारोहमा नेपाल क्रिकेट संघका सचिव पारस खड्का सहभागी हुनेछन्। खेल फिफाबाट मान्यताप्राप्त रेफ्रीले खेलाउनेछन्।
अध्यक्ष केसीले क्लबभित्र जोडिएका राष्ट्रिय खेलाडीले पनि प्रतियोगितामा सहभागी हुन पाउने बताए। ‘अपांगता भएका व्यक्तिलाई सहयोग गर्न सकिन्छ कि भन्ने हाम्रो सोच छ,’ उनले भने।
पत्रकार सम्मेलनमा लायनहरू मनीष श्रेष्ठ, अमित थापा, लियो क्लब अफ काठमाडौं छाब्दी बाराहीका अध्यक्ष मञ्जिता परियार, इभेन्ट म्यानेजर नवीन पाण्डेलगायत युवाहरूको सहभागिता थियो। प्रतियोगिताको स्पोन्सरमा मिड भ्याली इन्टरनेसनल कलेज, खल्ती एप, टिच स्टुडियो, डायनामिक, ग्रिनसिटी, स्टुडियो प्रभातलगायत आठवटा संस्था छन्।