युरोप पठाउने नाममा ६०० भन्दा बढी सर्वसाधारणबाट करोडौँ ठगी, कन्सल्टेन्सी सञ्चालक पक्राउ

सरकारी कर्मचारीलाई समेत नक्कली भिसा देखाई जागिर छाड्न लगाउँथे

बिहिबार, १८ माघ, २०८०
डिजिटल संस्करण
युरोप पठाउने नाममा ६०० भन्दा बढी सर्वसाधारणबाट करोडौँ ठगी, कन्सल्टेन्सी सञ्चालक पक्राउ

तस्बिर : संजित परियार/नयाँ पत्रिका

युरोप पठाउने नाममा ६ सयभन्दा धेरै व्यक्तिबाट करोडौँ रकम ठगी गर्ने एक कन्सल्टेन्सी सञ्चालकलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ।

माल्टा, पोल्यान्ड, क्रोएसिया, क्यानडालगायतका देश पठाउने भन्दै करोडौँ ठगी गर्ने ललितपुरको कन्जोसोम गाउँपालिका– ४ घर भई इमाडोल बस्ने ३२ वर्षका सुजन तामाङलाई कार्यालयबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो।

तामाङले विकास वाइवाको नक्कली परिचय दिई काठमाडौं महानगरपालिका– १६ बालाजु चोकमा ‘युरो विङ्स एजुकेसन कन्सल्टेन्सी’ सञ्चालन गरी सर्वसाधारणलाई ठगी गर्दै आएका पाइएको प्रहरीले जनाएको छ।

०७३ सालदेखि पाँच वर्ष विभिन्न मेनपावरहरूमा एजेन्टका रूपमा काम गरेका उनी ०७७ सालदेखि ठगी तथा आपराधिक लाभसम्बन्धी कसुरमा फरार रही नेपाल र भारतका विभिन्न स्थानमा लुकिछिपी बसेका थिए। ०८० सालदेखि विकास वाइवाको नक्कली परिचयबाट उनले बालाजुमा कन्सल्टेन्सी सञ्चालन गर्दै आएका थिए।

सोही नामबाट उनले बैंक खाता खोली आफैँले हस्ताक्षर गरी सबैखाले कारोबार गर्दै आएका पाइएको बुधबार पक्राउ परेका तामाङलाई बिहीबार सार्वजनिक गर्दै प्रहरीले जानकारी दिएको छ।

सरकारी कर्मचारीलाई समेत जागिर छाड्न लगाएर ठगी
कन्सल्टेन्सी सञ्चालक तामाङले सरकारी कर्मचारीलाई समेत युरोप पठाउने भन्दै जागिर छाड्न लगाएर लाखौँ ठगी गरेको पाइएको छ। प्रहरीका अनुसार तामाङले युरोपको नक्कली भिसा देखाई जागिर छोड्न लगाउने गरेका थिए।

उनले क्यानडाका लागि १८ लाख, माल्टा आठ लाख, पोल्यान्ड सात लाख र क्रोएसिया ६ लाख ५० हजार रेट नै तोकेर करोडौं असुलेका प्रहरीले जनाएको छ।

वैदेशिक रोजगार विभागका अनुसार उनीविरुद्ध हालसम्म ७० जनाको मुद्दा दर्ता भएको छ। जसबाट तीन करोड २५ लाख २२ हजार रुपैयाँको बिगो देखिएको र अन्य मुद्दासमेत दर्ताको क्रममा रहेको बताइएको छ। उनले प्रतिव्यक्ति ५० हजारदेखि पाँच लाखसम्म रकम ठगी गरेको देखिएको प्रहरीले जनाएको छ।

ठगी गरेको रकमबाट तामाङले व्यक्तिगत चार करोड ऋण तिरी वसुन्धारास्थित राप्ती मेनपावरमा ५० लाखको सेयर लगानी गरेको खुलेको छ। ३५ लाखमा गाडी खरिद गरेका, विभिन्न मितिमा भाइ सुवास तामाङको खातामा १५ लाख ५० हजार जम्मा गरेको, जलविद्युत् सहकारीबाट लिएको १५ लाख ऋण तिरेको र पाँच लाखको सुनको ब्रासलेट खरिद गरेको भेटिएको छ।

उनलाई आवश्यक कारबाहीका लागि प्रहरीले वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ।

सुझावित समाचार