ओपनर आसिफ शेखले शतकीय इनिङ्स खेले पनि एपिएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा कर्णालीसँग २१ रनले पराजित भएको छ । प्रतियोगिताअन्तर्गत बुधबार भएको ४२औँ खेलमा आसिफले १०८ रनको शतकीय इनिङ्स खेले पनि एपिएफलाई जित दिलाउन सकेनन् । सहज लक्ष्य पछ्याएको अन्य ब्याट्सम्यानले गतिलो साथ नदिँदा एपिएफले हारको सामना गर्नुपरेको हो । पहिलो ब्याटिङ गरेको कर्णाली ४४.१ ओभरमा अलआउट हुँदै २०६ रनमा समेटियो । प्रत्युत्तरमा एपिएफ ४४ ओभरमा १८५ रनमै समेटियो । आसिफले प्रधानमन्त्री कपमा दोस्रोपटक शतक बनाएका हुन् ।
उनले २०२२ मा कर्णालीविरुद्ध १३० रनको इनिङ्स खेलेका थिए । त्यसक्रममा १५ चौका र एक शतक प्रहार गरेका थिए । त्यो खेल पनि त्रिवि क्रिकेट मैदानमा भएको थियो । उनले प्रधानमन्त्री कपमा दोस्रो शतक पनि यसै मैदानमा बनाए । यसपटक उनले १० चौका र दुई छक्का प्रहार गरे । एपिएफको इनिङ्समा अमर रौटेलाले २८ रन बनाए । अमर र आसिफले सातौँ विकेटको लागि सर्वाधिक ८७ रनको साझेदारी गरे । यो प्रतियोगिताको दशौं शतक हो ।
कर्णालीका बलर प्रकाश जैसीले तीन ओभरमा चार विकेट लिए । यसअघि कर्णालीको ब्याटिङमा हिमांशु शाही र अर्जुन घर्तीले अर्धशतकीय इनिङ्स खेले । हिमांशुले ५० बलमा दुई चौका र सात छक्कासहित सर्वाधिक ६२ रन बनाए । ७४ बलमा एक चौका र तीन छक्कासहित अर्जुनले ५३ रन जोडे । दुई खेलाडीले चौथो विकेटको लागि १११ रनको साझेदारी गरे ।
शीर्ष चारमा पुग्न चुक्यो एपिएफ
राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलसहित अधिकांश खेलाडी रहेको एपिएफ यो हारसँगै शीर्ष चारबाट बाहिरिएको छ । नौ खेलमध्ये पाँच मात्रै जितेको एपिएफ १० अंकसहित पाँचौँ स्थानमा रह्यो । यो खेलसँगै शीर्ष चारको टुंगो पनि लागेको छ । फाइनलमा स्थान बनाइसकेको नेपाल पुलिस क्लबसँगै त्रिभुवन आर्मी, बागमती र मधेश शीर्ष चारमा स्थान बनाउँदै एलिट ट्रफीको लागि छनोट भएका छन् । फाइनल पुग्ने थप एक टोलीको टुंगो लाग्न बाँकी छ ।
एपिएफका कप्तान रोहितले पहिलोपटक एलिट ट्रफी आयोजना भए पनि छनोट हुन असफल हुँदा मिस गर्ने बताएका छन् । ‘इलिट ट्रफीमा छनोट नहुँदा घाटा भयो । पहिलोपटक हुँदै थियो । यसलाई मिस गर्नेछु,’ रोहितले भने, ‘कर्णालीले ब्याटिङमा राम्रो ग¥यो । । हाम्रो बलिङ राम्रो भएन । एलिट ट्रफीमा छनोट नहुनु मुख्य कारण सिनियर खेलाडीको प्रदर्शन राम्रो हुन सकेन ।’ प्रतियोगिताबाट एपिएफसँगै सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र कोशी एलिट ट्रफी खेलबाट चुकेका छन् ।
पुलिसको लगातार आठौँ जित
पुलिसले लगातार आठौँ जित निकालेको छ । पुलिसले लुम्बिनीलाई १०३ रनले हरायो । फाइलनमा स्थान बनाएको पुलिसको जितमा आरिफ शेख र करण केसीले अर्धशतकीय इनिङ्स खेलेका थिए । कुशल भुर्तेलले सर्वाधिक तीन विकेट लिए । पहिलो ब्याटिङ गरेको पुलिसले ३७.३ ओभरमा अलआउट हुँदै २४६ रनको लक्ष्य प्रस्तुत गर्यो । प्रत्युत्तरमा लुम्बिनीले ३६.३ ओभरमा अलआउट हुँदै १४२ रन बनाउन सक्यो । पुलिसको जितमा कप्तान आरिफ शेखले ७६, करणले ५२ र कुशल भुर्तेलले ४८ रनको योगदान गरे । लुम्बिनीका नर सार्कीले सर्वाधिक चार विकेट हात पारे । लुम्बिनीको इनिङ्समा दिल्सान अलीले ३६ र नरले ३१ रन बनाए । पुलिसका कुशलले तीन र करणले दुई विकेट लिए ।
सिनियर खेलाडी चल्न सकेनन्
रोहितकुमार पौडेल, कप्तान, एपिएफ
यस विकेटमा सहजै दुई सय रनको लक्ष्य पूरा गर्न सकिन्छ । हाम्रो ब्याटिङ राम्रो भएन । राष्ट्रिय खेलाडीहरूले दबाबमा कसरी खेल्नुपर्ने अब सोच्नुपर्छ । यसपटक समान्य लक्ष्यमा समेत चुकेका छौँ । पावर प्लेमा राम्रो गर्ने सोच थियो, त्यो हुन सकेन । कर्णालीले धेरै राम्रो गरेको थियो । उनीहरूको ब्याटिङ राम्रो भयो । हाम्रो बलिङ राम्रो भएन । इलिट ट्रफीमा छनोट नहुँदा घाटा भयो । पहिलोपटक हुँदै थियो । त्यो मिस हुनेछ ।