सत्तासाझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिदहरूको अवमूल्यन गरेको आरोप लगाएका छन्।
‘प्रधानमन्त्रीजीले तीन हजार सहिद थप्ने कुरा गर्नुभयो। सहिद दिवसका दिन हामीले सहिदहरूलाई अवमूल्यन गर्न भएन। त्यो कुरामा ध्यान दिन आवश्यक छ,’ मंगलबारबाट सुरु ‘समुदायमा कांग्रेस’ अभियानको विराटनगरमा सुरुवात गर्दै उनले भने।
प्रधानमन्त्री दाहालले माघ १३ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा करिब तीन हजारलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढेको बताएका छन्।
कार्यक्रममा नेता कोइरालाले कांग्रेस समुदायमा पुगेर जनभावना बुझ्न अघि बढेको उल्लेख गरे। उनले समुदायस्तरमा देखिएका कमीकमजोरीलाई आत्मसात् गर्दै सच्चिएर कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिए।
नेता कोइरालाले विराटनगरमा शुद्ध खानेपानीलाई प्रभावकारी रूपमा जनतामाझ पुर्याउन महानगरले काम गर्दै आएको दाबी गरे। उनले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले महानगरभित्र बिच्छ्याइएको खानेपानीको पुरानो पाइप विस्थापित गर्दै नयाँ पाइप लगाउने कार्य अघि बढेको उल्लेख गरे।