नेप्से दोहोरो अंकले वृद्धि, कारोबार रकम पनि बढ्यो

सोमबार, १५ माघ, २०८०
डिजिटल संस्करण

गत साता निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो साता कारोबारको सुरुवाती दुई दिन लगातार बढेको छ। आइतबार दोहोरो अंकले बढेको परिसूचक सोमबार पनि १०.२६ अंकले उकालो लागेको छ। आज नेप्से परिसूचक ०.४८ प्रतिशतले बढेर दुई हजार १०४.७२ को विन्दुमा कायम भएको हो।

तीन सय ११ कम्पनीको एक करोड २३ लाख २२ हजार सात सय पाँच कित्ता सेयर एक लाख तीन हजार एक सय ५३ पटक खरिद–बिक्री हुँदा रु. चार अर्ब ५६ करोड ६५ लाख २२ हजार दुई सय ३० बराबरको कारोबार भएको छ। आइतबार तीन अर्ब ८३ करोड ३७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।

बैंकिङ समूह ०.०६, लघुवित्त समूह ०.०५ र निर्जीवन बिमा समूह ०.११ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै ‘अन्य’ समूह १.६४ र जलविद्युत् समूह १.०८ प्रतिशतले बढेका छन्।

युनियन हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने गरिमा डिबेन्चर– २०८५ को सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सबैभन्दा धेरै रु. ६० करोड १६ लाख ७१ हजार आठ सय नौबराबरको नौ लाख पाँच सय ११ कित्ता सेयर किनबेच भएको छ।

सुझावित समाचार