त्रिविका परीक्षासम्बन्धी सेवा आजदेखि अनलाइन

सोमबार, १५ माघ, २०८०
डिजिटल संस्करण

त्रिभुवन विश्वविद्यालयले आजदेखि परीक्षासम्बन्धी सेवा अनलाइन प्रणालीमार्फत दिन सुरु गरेको छ । विद्यार्थीले परीक्षाका प्रमाणपत्र लिनका लागि घरबाटै आवेदन गर्न सक्ने भएका छन् । 

त्रिभुवन विश्वविद्यालय स्थापनाको ७४औँ वर्षमा पहिलोपटक अनलाइन सेवामा प्रवेश गरेको हो । विश्वविद्यालयका कार्यवाहक उपकुलपति शिवलाल भुसालले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्प्युटरमा क्लिक गरी सेवाको शुभारम्भ गरेका थिए। उद्घाटनपछि उनले परीक्षाका सबै कार्यलाई अनलाइनमार्फत गर्ने विश्वविद्यालयको अभियान आज सुरु भएको र यो सफलतामा पुग्ने विश्वास व्यक्त गरे। 

यसअघि प्रमाणपत्र प्राप्त गर्न बल्खुस्थित कार्यालयमा नै गएर आवेदन दिनुपर्ने व्यवस्था थियो । अनलाइन सेवा प्रारम्भ भएपछि विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, मूल प्रमाणपत्र, पुनर्योग र प्रमाणपत्र सच्याउनेजस्ता कार्यका लाग घरैबाट अनलाइन निवेदन दिन सक्नेछन् ।

सोका लागि विद्यार्थीले आफ्नै कम्प्युटरबाट www.tuexam.edu.np मा लग इन गरी तोकिएको प्रमाण संलग्न गर्ने र नेपाल बैंक वा ग्लोबल आइएमइई बैंकमा तोकिएअनुसारको शुल्क तिरेर निवेदन दिन सक्नेछन्। २४सै घन्टा चल्ने सो प्रणालीमा निवेदन दिएपछि विद्यार्थीको उक्त निवेदन स्वीकृत वा अस्वीकृत भएको जानकारी कार्यालय समयभित्र विद्यार्थीले पाउनेछन्। भुसालका अनुसार अस्वीकृत भएमा त्यसको कारणसमेत खुलाई सच्याएर वा नपुग विवरण राखेर पुनः आवेदन गर्नसमेत विद्यार्थीलाई आग्रह गरिनेछ।

यसरी दिइएको निवेदनमा सबै प्रमाण पुगेको वा मिलेको छ भने निवेदन दिएको एक साताभित्र प्रमाणपत्र तयार हुनेछ। यसरी तयार भएको प्रमाणपत्र लिन सम्बन्धित परीक्षार्थी उपत्यकाको हकमा परीक्षा नियन्त्रण कार्यालय बल्खुमै जानुपर्नेछ। उपत्यकाबाहिरका विद्यार्थीले भने प्रमाणपत्र लिनका लागि सम्बन्धित क्षेत्रीय शिक्षा निर्देशनालय जानुपर्ने हुन्छ।

त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार परीक्षाका जुनसुकै कामका लागि पनि बल्खु नै जानुपर्ने अवस्थाको अन्त्य गरी समयअनुसार त्रिविका शैक्षिक क्यालेन्डरलाई व्यवस्थित गर्न अनलाइन सेवा सुरु गरिएको हो। आगामी दिनमा प्रमाणपत्र वितरणलगायत सबै कार्य अनलाइनमै गर्ने गरी तयारी भइरहेको पनि परीक्षा नियन्त्रक जोशीले जानकारी दिए।

अबको करिब एक महिना अनलाइन र आफैँ बल्खु आएर निवेदन दिने गरी दुईवटै प्रणाली राखिने जानकारी पनि उनले दिए। अनलाइन सेवा चलाउनका लागि अझै पनि कार्यालयले दक्ष र पर्याप्त जनशक्तिको अभाव भोग्नुपरेकोसमेत उनले बताए। दोस्रो चरणदेखि यस्ता प्रमाणपत्र सम्बन्धित क्याम्पसबाट विद्यार्थीले पाउने जानकारी कार्यक्रममा दिइयो। ‘फागुन १ गतेदेखि यसलाई पूर्णतः अनलाइन प्रणालीमा लगिनेछ,’ उनले भने।

अनलाइन सेवामा ०५४ सालपछिका प्रमाणपत्रको काम मात्र समेट्ने परीक्षा नियन्त्रक जोशीले जानकारी दिए। त्यसभन्दा अघिका प्रमाणपत्र कम्प्युटर अभिलेखमा नरहेका कारण त्यसअघि परीक्षा दिएकाहरूले प्रमाणपत्रसम्बन्धी सेवा लिन बल्खु नै पुग्नुपर्ने उनले बताए। यद्यपि, यस्ता सेवाग्राही अत्यन्त थोरै संख्या महिनामा एक–दुईजना आउने गरेका उनको भनाइ छ।

सुझावित समाचार