कुनै समय कहिल्यै सूर्य नअस्ताउने साम्राज्यको परिचय बनाएको इंग्ल्यान्डमा नौसेनाका अधिकारीहरूको छनोटका लागि अन्तर्वार्ता चलिरहेको थियो । त्यसका लागि थुप्रै उम्मेदवार सम्मिलित थिए । ती अनेकौँ उम्मेदवारमध्ये माउन्ट बेटन नाम गरेका व्यक्ति पनि थिए । पालैपालो एकपछि अर्को व्यक्तिको अन्तर्वार्ता लिइसकेपछि बेटनको पालो आयो ।
आफ्नो पालो आएको जनाउ पाएपछि माउन्ट बेटन अन्तर्वार्ता भइरहेको कोठामा प्रवेश गरे । उनी अन्तर्वार्ता लिने अधिकारीलाई अभिवादन गरेर आफ्ना लागि निर्धारित सिटमा बडो आत्मविश्वासका साथ बसे । अन्तर्वार्ताकारले अप्रत्याशित रूपमा उनलाई सोधे, ‘यदि समुद्रमा भीषण आँधी आयो भने तिमी के गर्छौ ?’ प्रश्न सुनेपछि बेटन मुसुक्क मुस्काए र बडो आत्मविश्वासपूर्वक सीधा जवाफ दिए, ‘लंगर लगाएर जहाजलाई स्थिर गर्नेछु ।’
उनको जवाफ सुनिसकेपछि ती प्रश्नकर्ताले पुनः प्रश्न गरे, ‘ल ठीकै छ, एउटा आँधी आएपछि तिमी लंगर लगाएर जहाज स्थिर गरौला । तर, यदि फेरि अर्को भीषण आँधी आएर जहाजलाई घेर्यो भने त्यतिखेर तिमी के गर्छौ ?’ हँसिलो अनुहार बनाउ“दै बेटनले जवाफ दिए, ‘यदि अर्को भीषण आँधी आयो भने म फेरि अर्को लंगर लगाएर जहाजलाई अड्याउँछु ।’ प्रश्नकर्ताले फेरि यही प्रश्न दोहोर्याए, बेटनले पनि फेरि त्यही जवाफ दोहोर्याए ।
यो सवाल–जवाफको क्रम केहीबेर चलिरह्यो । सवाल पनि दोहोरिइरह्यो र जवाफ पनि दोहोरिइरह्यो । एकछिनपछि प्रश्नकर्ताले मुस्कुराउँदै सोधे, ‘तिम्रो कुरा त ठीकै हो युवक, तर समुद्रमा आँधीमा घेरिएको विपत्तिको क्षणमा तिमीले यति धेरै लंगरचाहिँ कहाँबाट ल्याउँछौ ?’ प्रश्नकर्ताको आशय बुझेपछि मुसुक्क हाँस्दै कुनै अप्ठ्यारो नमानी उनले जवाफ फर्काए, ‘त्यही“बाट श्रीमान्, जहा“बाट तपाईं यसरी एकपछि अर्को भीषण आ“धी ल्याइरहनुभएको छ ।’
माउन्ट बेटनको जवाफ सुनिसकेपछि प्रश्नकर्तासित उनलाई सोध्नका लागि कुनै पनि प्रश्न बाँकी थिएनन् । बेटनको आत्मविश्वास र सवाल–जवाफमा निपुर्णता देखेर उनैलाई रोजियो । यिनै माउन्ट बेटन पछि गएर भारतका लागि प्रथम गभर्नर जनरल बने ।