लामो शीतलहरका कारण चिसो अत्यधिक बढेपछि नेपालगन्जका विद्यालयहरूमा पुनः जाडो बिदा दिइएको छ।
अत्यधिक जाडो तथा शीतलहरले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएपछि १५–१६ माघसम्म नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक, धार्मिक र संस्थागत विद्यालयमा जाडो बिदा दिइएको शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताए।
उनले निरन्तर रूपमा बढ्दै गएको अत्यधिक जाडो तथा शीतलहरको प्रकोपका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएकाले नेपालगन्ज उपमहानगरपालिका कार्यबाहक नगर प्रमुखको आदेशानुसार पालिकाअन्तर्गतका सम्पूर्ण विद्यालयहरूमा दुई दिन जाडो बिदा दिइएको बताए।
बाँकेमा एक महिनादेखि निरन्तर शीतलहर चलेपछि जनजीवन नराम्ररी प्रभावित भएको छ। यसअघि माघ ४ देखि ८ गतेसम्म नेपालगन्जका विद्यालयमा जाडो बिदा दिइएको थियो। मौसममा सुधार नभएपछि फेरि बिदा दिइएको थापाले बताए।