संखुवासभामा निर्माण हुने ६ सय ६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको जग्गा अधिकरणको प्रक्रिया अगाडि बढेको छ । आयोजना निर्माणका लागि अहिले ६५ हेक्टर जग्गा अधिग्रहण सुरु गरिएको हो । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मुआब्जा निर्धारण समितिले ५६५ कित्तामा ६ सय ५६ जग्गाधनीको नामावली सार्वजनिक गरिएको छ ।
आयोजना निर्माणस्थल क्षेत्र पर्ने संखुवासभाको साबिक गाविस दिदिङको वडा नम्बर १, ३ ८, शीतलपाटीको २, ३, ४, ५, ६, ७, पांमा गाविसको ९ र मनकामना गाविसको ४, ६, ७ मा पर्ने जग्गाको अधिग्रहण सुरु गरिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी कार्कीको भनाइ छ । अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर गरिएको छ । प्रस्तावित आयोजनाबाट चार सय ४४ घरधुरी प्रभावित हुनेछन् ।
आयोजनाका लागि एक सय ८४ हेक्टर जग्गा आवश्यक पर्नेछ । जसमा निजी जग्गा एक सय सात हेक्टर, वन क्षेत्र ७० हेक्टर र सरकारी जग्गा ६ हेक्टर रहेको छ । कटान हुने रूखको संख्या १६ हजार एक सय ९८ रूख रहेको परियोजना निर्माण तथा सञ्चालनको जिम्मा लिएको सतलज जलविद्युत् निगमले जनाएको छ ।