आइसिसी यू–१९ विश्वकपको दोस्रो म्याचमा पनि नेपाल पराजित भएको छ। ग्राउन्ड डी इस्ट लन्डनमा भएको म्याचमा पाकिस्तानले नेपालमाथि पाँच विकेटको जित निकालेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पाकिस्तानलाई १ सय ९८ रनको लक्ष्य दिएको थियो। पाकिस्तानले १४ बाँकी छँदै पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। पाकिस्तानको जितमा अजान अवाइसले अविजित ६३ रनको योगदान दिए।
पाकिस्तानले ८१ रनमा दुई विकेट गुमाएको अवस्थामा क्रिजमा आएका अजानले एक इन्डबाट पाकिस्तानलाई जितसम्म डोर्याए। उनले आफ्नो जिम्मेवारी र धैर्यपूर्ण इनिङमा ६ चौका प्रहार गरे। उनले ८२ बलको सामना गरेका थिए।
यस्तै, पाकिस्तानका दुवै ओपनर स्यामुएल हुसैन र साहजइब खानले समान ३७ रन बनाए। अहमद असानले २९ रनको महत्त्वपूर्ण योगदान दिए। एक सय चार रन बनाउँदा चौथो विकेट गुमाएपछि पाकिस्तान केही दबाबमा आएको थियो। यस्तोमा अजान र अहमदले ६४ रनको साझेदारी गरेका थिए। यही साझेदारी नै पाकिस्तानको जितको आधार बन्यो।
नेपाली बलरले पूरै इनिङमा निकै कसिलो बलिङ गरे पनि आवश्यक विकेट लिन नसक्दा जित निकाल्न सकेनन्। नौ ओभर बलिङ गरेका आकाश चन्दले सर्वाधिक तीन विकेट लिए। यस्तै, दीपेश कँडेल र आकाश त्रिपाठीले एक–एक विकेट लिए। दश ओभरमा एक मेडन राखी जम्मा २९ रन दिएर किफायती बलिङ गरे पनि गुल्सन झाले विकेट लिन सकेनन्।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १९७ रन बनाएको थियो। नेपालका लागि ओपनर विपिन रावलले ६८ बलमा ४ चौका र एक छक्काको मद्दतमा सर्वाधिक ३९ रन बनाए।
पाकिस्तानी तीव्र गतिका बलरसामु नेपालका ब्याटर चल्न सकेनन्। आशा गरिएका ओपनर अर्जुन कुमाल र आकाश त्रिपाठीले राम्रो प्रदर्शन गर्न सकेनन्। दुवैजना ६–६ रनमै आउट भएपछि नेपाल सुरुबाटै दबाबमा रह्यो।
यस्तै, नेपालका लागि आकाश चन्द नटआउट रहँदै ११ बलमा एक चौका र एक छक्काको मद्दतले १६ रन जोड्न सफल भए। दीपक डुम्रे २६ र सुवास भण्डारी २० रन बनाएर पेभेलियन फर्किए।
३७ बलमा ३ चौकाको मद्दतले २३ बनाएका कप्तान देव खनाल लामो सर्ट हान्न खोज्दा क्याचआउट भए। दीपेश कँडेल १३ र उत्तम मगरले ४ रन मात्र जोड्न सके। नेपालले २५ रन अतिरिक्त पाएको थियो।
पाकिस्तानका लागि अरफात मिनहासले तीन विकेट, अहमद हुसैन र उबैद शाहले समान दुई-दुई विकेट लिए। यस्तै, अलि अस्फद, खुबैब अली र अली अस्फदले समान एक-एक विकेट झारे।