प्रधानमन्त्री कप : मधेशसँग सुदूरपश्चिम ८० रनले पराजित

सोमबार, ८ माघ, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा मधेशले सुदूरपश्चिमलाई ८० रनले पराजित गर्यो। प्रतियोगितामा सुदूरपश्चिमको यो पहिलो हार हो। 

जितसँगै प्रतियोगितामा चौथो जित हासिल गरेको मधेशले आठ अंक जोडेको छ। छ खेलमा आठ अंक जोड्दै मधेश प्रदेश तालिकाको तेस्रो स्थानमा छ। त्यस्तै, चार खेलमा तीन जित र एक खेलमा हार बेहोर्दै सुदूरपश्चिम ६ अंकका साथ अंकतालिकाको चौथो स्थानमा छ।

मधेश प्रदेशले प्रस्तुत गरेको तीन सय २० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४४ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ३९ रनमा समेटियो। सुदूरपश्चिमका लागि नरेन भट्टले एक सय २२ बलमा १३ चौका र एक छक्काको मद्दतमा एक सय २१ रन बनाए। यसैगरी, नारायण जोशीले २६, किरण ठगुन्नाले २०, नरेन साउदले १८, खडक बोहराले १४ तथा गजेन्द्र बोहराले १२ रन बनाए।

मधेशका लागि राजेश यादव र प्रदीप पासवानले समान तीन विकेट लिए भने रञ्जित कुमारले दुई तथा कप्तान हरिशंकर शाह र पवन सराफले समान एक–एक विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मधेश प्रदेशले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै तीन सय १९ रन बनाएको थियो। मधेशका लागि मायन यादवले एक सय २८ बलमा आठ चौका र दुई छक्काको सहयोगमा एक सय १५ रनको योगदान दिए।

त्यसैगरी, पवन सर्राफले ६३ बलमा चार चौका र चार छक्काको मद्दतमा ७० रन बनाए। अनिल शाहले ७० बलमा ६ चौका र दुई छक्काको मद्दतले ६९ रनको योगदान गरे। रुपेश सिंहले २१, अभिषेक तिवारीले १६ तथा हरिशंकर शाहले १४ रन बनाए।

सुदूरपश्चिमका लागि शेर मल्लले चार विकेट लिए भने विकास आग्रीले दुई तथा नारायण जोशी र गजेन्द्र बोहराले समान एक–एक विकेट झारे।

See More On

सुझावित समाचार