सगरमाथा र लुम्बिनीको ब्यानरमा अमेरिकामा तीन देशकाे सांस्कृतिक प्रस्तुति

सोमबार, ८ माघ, २०८०
डिजिटल संस्करण

नेपाली, कम्बोडियन र बर्मिज समुदायका कलाकारहरू अमेरिकाको पेन्सिलभेनिया राज्यको फिलाडेल्फिया सहरमा जनवरी २० का दिन आयोजित एउटै कार्यक्रममा भेला भएर आ–आफ्नो जातीय सांस्कृतिक नृत्य तथा गीत प्रस्तुत गरेका छन् । इन्ट्रा कल्चरल इभेन्ट– २०२४ नाम दिइएको सो कार्यक्रम नेपाली समयअनुसार आइतबार बिहान सुरु भएको हो ।

कार्यक्रममा  पेन्सिलभेनिया राज्यको राज्यसभाका स्थानीय नेता, स्थानीय सहरको मेयर कार्यालयका प्रतिनिधि र अमेरिकी संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदको कार्यालयका प्रतिनिधि र नगरपरिषद्का सदस्यसमेतको  उपस्थिति थियो । 

सगरमाथा र लुम्बिनीलाई ब्यानरमा साक्षी राखेर भ्रातृत्व, शान्ति र सहकार्यको भावना व्यक्त गरिएको सो कार्यक्रम भुटानमा जन्मिएका अमेरिकानिवासी नेपाली युवा व्यवसायी डिल्ली अधिकारीको नेतृत्वमा रहेको सामाजिक संस्था इन्ट्रा–नेसनल वेलफेयर एन्ण्डड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा भएको थियो । 

इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनले संसारभरका नेपालीलाई आफ्नो संस्कृतिको माध्यमबाट एकजुट पार्ने अभियान चलाइरहेको छ । कार्यक्रममा फिलाडेल्फियामा रहेका नेपाली, करेन, खमेर, बर्मेली र कम्बोडियन समुदायको ठूलो उपस्थिति थियो ।

कार्यक्रममा कम्बोडियन आइडलसमेत भएकी गायिका निमोल चोमले आफूलाई नेपालका हिमालय र भागवान् बुद्धको जन्मभूमि पुग्ने रहर भएको बताएकी थिइन् । इन्ट्रा डान्स स्कुल, ह्यारिसबर्गका नेपाली मूलका विद्यार्थीले नेपाली लोकगीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए । स्थानीय नेपाली कलाकार रोमा राई र उनको समूहले प्रस्तुत गरेकाे राई जातिको परम्परागत साकेला नृत्यले सबैलाई आकर्षित गरेको थियो ।
 

सुझावित समाचार