नागरिकसँग निकटता बढाएर समाजमा लुकेका अपराध बाहिर ल्याउने उद्देश्यले प्रहरीले घर–घरमा स्टिकर टाँस्ने अभियान चलाएको छ। अछामको इलाका प्रहरी कार्यालय कमलबजारले तीन हजार आठ सय ९३ घरमा प्रहरीको नम्बरसहितको स्टिकर टाँसिसकेको छ।
कमलबजार नगरपालिकाको वडा नम्बर १ देखि १० सम्मका घरमा स्टिकर टाँसिएको इप्रका कमलबजारका इन्स्पेक्टर वीरेन्द्रसिंह जोहारीले जानकारी दिए। उनका अनुसार गत १८ पुसदेखि स्टिकर अभियान सुरु भएको हो।
कुनै समस्या भएमा तत्काल प्रहरीसँग सम्पर्क गर्न सहज हुने भएकाले नगरपालिकाका सबैजसो घरमा स्टिकर टाँसिएको उनको भनाइ छ।
प्रहरीसँग पहुँच नहुँदा घरेलु तथा सामाजिक हिंसाका घटना समाजमा लुकेका हुन सक्ने भएकाले यसरी प्रहरी घर–घर पुगेर निकटता बढाइएको इप्रका कमलबजारले जनाएको छ।
साथै, प्राकृतिक प्रकोपका घटना हुँदा पनि तत्कालै प्रहरीलाई सम्पर्क गर्न सहज हुने उद्देश्यले स्टिकर अभियान चलाइएको इन्स्पेक्टर जोहारीले बताए।