अयोध्यामा प्राणप्रतिष्ठा, नेपालमा शंखनाद प्रतियोगिता

आइतबार, ७ माघ, २०८०
डिजिटल संस्करण

भारतको अयोध्यामा श्रीराम जन्मभूमिको प्राणप्रतिष्ठा हुँदा नेपालमा विभिन्न कार्यक्रम हुने भएका छन्। हिन्दूधर्मसँग सम्बन्धित विभिन्न संघसंस्थाले आफूअनुकूलका कार्यक्रम घोषणा गरेका छन्।

विश्व हिन्दू परिषद् नेपाल काठमाडौंले सोमबार प्राणप्रतिष्ठाको दिन शंखनाद प्रतियोगिता आयोजना गरेको छ। पशुपतिनाथ मन्दिरस्थित शंकराचार्य मठमा आयोजना हुने प्रतियोगितामा विजेतालाई पुरस्कारसमेत घोषणा गरिएको छ।

विश्व हिन्दू परिषद् नेपालको काठमाडौं शाखा संयोजक जगन्नाथ सुवेदीले श्रीराम जन्मभूमि प्राणप्रतिष्ठाकाे अवसर पारेर प्रतियोगिता आयोजना गरेको बताएका छन्।

‘अयोध्यामा भव्य राम मन्दिर प्राणप्रतिष्ठासहित गर्भगृहमा सारिँदै छ। यो हामी सबै हिन्दू धर्मावलम्बीका लागि विशेष दिन हो,’ संयोजक सुवेदीले भने, ‘त्यही अवसर पारेर हामीले खुला शंखदान प्रतियोगिता आयोजना गरेका छौँ। सनातनी सबैलाई प्रतिस्पर्धामा भाग लिन अनुरोध गर्छौँ।’

शंखनाद प्रतियोगिताको विजेताले सात हजार एक सय प्राप्त गर्नेछन् । दोस्रोले पाँच हजार एक सय र तेस्रोले तीन हजार एक प्राप्त गर्ने परिषद्ले जनाएको छ। यसैगरी, प्रोत्साहन पुरस्कार प्राप्त गर्नेले ११ सय पाउनेछन्।

परिषद् संयोजक सुवेदीका अनुसार मठमै विद्वान् ११ जना गुरुद्वारा रामायण पाठपारायण हुनेछ। साथै २१ सय दीप प्रज्ज्वलन गरिनेछ। 

यसैगरी, पशुपति राममन्दिरमा स्वर्गद्वारी छात्रपरिषद्ले दीप प्रज्ज्वलन गर्नुका साथै रामार्चन गर्ने कार्यक्रम राखेको छ। यसैगरी, जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप प्रज्ज्वलन गर्ने कार्यक्रम छ।

यसैबीच, कालीगण्डकीबाट लगिएको दुई शालीग्राम गर्भगृहमा राखिने भएको छ। राम बाल्यकालको मूर्ति बनाउन कालीगण्डकीबाट लगिएको दुई शिला बाहिरै हुने भएको छ।८ माघमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा मन्दिरको प्राणप्रतिष्ठा हुँदै छ।
 

सुझावित समाचार