आसन्न राष्ट्रिय सभा निर्वाचनमा आफ्नो पक्षमा परिणाम ल्याउन सत्तागठबन्धन निर्वाचनकेन्द्रित बनेको छ । ११ माघमा राष्ट्रिय सभाका १९ सिट (एक मनोनीतसहित)का लागि निर्वाचन हुँदै छ ।निर्वाचनका लागि गठबन्धन दलका संयुक्त र दलहरूका सबै संयन्त्र परिचालन भएका छन् । शनिबार कांग्रेस प्रमुख सचेतक रमेश लेखक नेतृत्वको गठबन्धनको केन्द्रीय निर्वाचन समन्वय समिति बैठकले गठबन्धन दलहरूलाई छुट्टाछुट्टै र प्रदेश समन्वय समितिलाई परिपत्र गरेको छ ।
समितिका सदस्यसचिव केशव जोशीका अनुसार शनिबार बिहानको समन्वय समिति बैठकले उम्मेदवारका सुझावको विश्लेषणसहित यस्तो निर्णय लिएको हो । साथै, समितिका सदस्यसमेत समन्वय र सहजीकरणका लागि प्रदेशकेन्द्रित बन्ने भएका छन् । ‘सातवटै प्रदेशका उम्मेदवारसँग जानकारी लिई सुझावबारे छलफल भयो,’ सदस्यसचिव जोशीले भने, ‘निर्वाचनका लागि समन्वय र सहजीकरण गर्न समितिका तर्फबाट प्रदेश जाने निर्णय भएको छ ।’
गठबन्धन दलको सातै प्रदेशमा कांग्रेसको संयोजकत्वमा समन्वय समिति गठन गरेका छन् । समितिले निर्णयबारे सत्तागठबन्धन दलका सात शीर्ष नेतृत्वलाई जाकारी गराउँदै दलका संयन्त्रलाई निर्देशनका लागि अनुरोध गरेको छ । ‘निर्णय कार्यान्वयन गर्न पार्टीको प्रदेश र जिल्लाका सम्बन्धित निकाय/पदाधिकारीलाई निर्देशन गरिदिन हुन अनुरोध छ,’ संयोजक लेखकले पठाएको पत्रमा छ ।
गठबन्धनका कांग्रेस दश, माओवादी ६, एकीकृत समाजवादी दुई र जसपा एक सिटसहित बाँडफाँट भएको छ । राष्ट्रपतिबाट मनोनीत एक सिटमा जसपा उपाध्यक्ष दुर्गा पौेडेलको नाममा सहमति बनेको छ । सत्तागठबन्धनले लेखकको संयोजकत्वमा ‘राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समिति’ गठन गरेर गठबन्धनसँगको समन्वय गरिरहेको छ ।
समितिमा माओवादीबाट वर्षमान पुन, जसपाबाट मनीष सुमन, एकीकृत समाजवादीबाट डा. विजय पौडेल सदस्य छन् ।
शीर्ष नेताहरूले गठबन्धनका उम्मेदवारको पक्षमा मतदानका लागि संयुक्त वक्तव्य जारी गरेका छन् । साथै, गठबन्धनले निर्वाचनकेन्द्रित प्रदेश जिल्ला समन्वय समिति गठन गरी संयुक्त चुनाव प्रचारप्रसारदेखि मतगणनासम्मको तयारी थालेको छ । दलहरूले भ्रातृ संस्थालाई सशक्त रूपमा परिचालन हुन निर्देशनसमेत गरेको छ । सोहीअनुसार भ्रातृ संस्था परिचालित भइरहेका छन् । राष्ट्रिय सभामा अध्यक्षसहित एमालेका आठ, कांग्रेस चार, माओवादीका तीन, एकीकृत समाजवादीका दुई, जसपाका एक र स्वतन्त्र दुईजना (एक मनोनीत)को कार्यकाल आगामी २० फागुनमा सकिँदै छ ।
चुनापछि बदलिन सक्छ राष्ट्रिय सभाको अंकगणित
निर्वाचन आयोगले सार्वजनिक गरेको मतभारका आधारमा गठबन्धनको मतभार बढी छ । सत्तारूढ गठबन्धन एकातिर र एमाले अर्कोतिर प्रतिस्पर्धामा उत्रिँदा मतदान हुन लागेका सबै सिटमा एमाले पछाडि छ । राष्ट्रिय सभामा ५९ सिट छन् । अहिले निर्वाचनमा आठवटै सिट गुमाएमा एमाले राष्ट्रिय सभामा पहिलो दलबाट तेस्रो दल बन्नेछ ।
हाल १७ सिटसहित राष्ट्रिय सभामा पहिलो दल रहेको एमाले आठ सिट गुमाउँदा नौ सिटमा खुम्चिन्छ । हाल १४ सिट रहेको माओवादी एमालेका तीन सिट थप गरेर पहिलो दल बन्नेछ । हाल १० सिटसहित दोस्रो स्थानमा रहेको कांग्रेसले ६ सिट थप गर्दा राष्ट्रिय सभामा दोस्रो दलको हैसियत बनाउनेछ । तर, समग्रमा संघीय संसद् (राष्ट्रिय सभा र प्रतिनिधिसभा)मा भने एमालेको स्थान दोस्रो दलकै हैसियतमा रहनेछ ।