मधेश प्रदेशले मनाउँदै गरेको स्वाभिमान र बलिदान दिवसलाई कसरी हेर्नुभएको छ ?
पछिल्ला वर्षहरूमा नेपालमा मात्र नभई दुनियाँभर राजनीतिक विचारधाराभन्दा पनि आफ्नो राजनीतिक वर्चस्व र लाभ जोगाउन विभिन्न नामका प्रतीक या दिवसहरूको खोजी गर्ने परम्परा चलेको छ । यस्ता दिवसमार्फत सम्बन्धित राजनीतिक दल या शक्तिलाई हामी तिमीहरूसँगै छौँ भनेर आफ्ना क्लस्टरलाई विश्वस्त बनाउन सजिलो हुन्छ । त्यसैको निरन्तरता हुन्, मधेशले मनाउँदै गरेका यी दिवस ।
तीनवटा सशक्त आन्दोलनपछि मधेशले के पायो ?
मधेश आन्दोलनको प्रभावमा ढिलै भए पनि र सीमित क्षेत्रमै भए पनि मधेश प्रदेश बन्यो । यसबाट मधेशले राष्ट्रिय पहिचान पायो । नेपालमा मधेश छ, त्यहाँ मधेशी जनता बसोवास गर्छन्, उनीहरूको पनि नेपाली राष्ट्रियता छ, उनीहरूका अलग्गै भाषा, संस्कृति, वेशभूषा र रहनसहन छन् भन्ने तथ्य स्थापित भयो । राज्य पुनर्संरचनापछि मधेश प्रदेशले राजनीतिक स्थिरता दियो । मन्त्री, मुख्यमन्त्री बनेपछि राज्य सञ्चालनमा राज्यतन्त्रका अवयवसित मधेशले जोडिन पायो ।
अहिले मधेश आन्दोलनको दिशा कता मोडिएको देख्नुहुन्छ ?
पहिलो मधेश आन्दोलनले काठमाडौंलाई मधेशका मुद्दाको ‘रियलाइजेसन’ गरायो । दोस्रोले संविधान सभा निर्वाचनका लागि सम्झौता गर्न बाध्य बनायो । तर, तेस्रो मधेश आन्दोलनसम्म पुग्दा मधेशका नेताहरूले सत्तामा लडिबुडी खेलिसकेका हुनाले काठमाडौंले उनीहरूका आनीबानी र कमजोरी सबै चिनिसकेको थियो । परिणामस्वरूप विनाकुनै उपलब्धि त्यो आन्दोलन टुंगियो । मधेश आन्दोलन पराजित भयो । काठमाडौंले मधेशलाई पुनः मौजाका रूपमा हेर्न थाल्यो । मधेशको मुख्यमन्त्री काठमाडौंले नियुक्त गर्न थाल्यो । काठमाडौंले मधेशलाई शंकाको नजरले हेर्न थाल्यो । मधेशमा पनि काठमाडौंका ‘दाजु’हरू हाबी भए ।