थिएटर मलमा पपेट नाटक ‘चिरुचिरु मिचिरु’

सोमबार, १ माघ, २०८०
डिजिटल संस्करण

थिएटर मल कीर्तिपुर रंगमञ्चमा पपेट नाटक ‘चिरुचिरु मिचिरु’ मञ्चन भएको छ। नाटकलाई पपेट थिएटरमा अभ्यस्त जापानकी रंगकर्मी इरिना सजीले लेखन, परिकल्पना तथा निर्देशन गरेकी हुन्।

जापानको उतारभिजन थिएटर कम्पनी तथा नेपालका थिएटर सेन्टर फर चिल्ड्रेन नेपाल र थिएटर मलको संयुक्त आयोजना भएको कार्यशालाबाट पपेट नाटक ‘चिरुचिरु मिचिरु’ तयार पारिएको हो। यससँगै १० दिने पपेट थिएटर कार्यशाला सकिएको छ।

कार्यशालालाई राराहिल मेमोरियल स्कुल र आसितेज नेपालले सहकार्य गरेको थियो। जापानबाट निर्देशक इरिना सजीसहित चारजना कलाकार कार्यशालाका मेन्टर थिए।

यही नाटक उतारभिजनले आगामी मार्चमा जापानमा पनि मञ्चन गर्नेछ। नाटक ‘चिरुचिरु मिचिरु’मा दुई बालकले निलो चराको खोजीका लागि गरेको सपनाको यात्राको कथालाई बालसुलभ शैलीमा प्रस्तुत गरिएको थियो।

सपनाको यात्रामा उनीहरूले अलौकिक संसारमा विभिन्न पात्रहरूसँग भेट्दै निलो चरासम्म पुग्ने प्रयास गर्छन्। यात्राका क्रममा उनीहरूले गरेका प्रयास, भोगेका रोमाञ्चकारी घटनाहरूलाई कलाकार र पपेटमार्फत नाटकले प्रस्तुत गरेको थियो।

सुझावित समाचार