स्वामी विवेकानन्द सिकागो धर्म सम्मेलनमा वक्ताका रूपमा सहभागी हुन जाने निश्चित भएपछि उनी यात्राको तयारीमा जुटे । यात्रामा जाने दिन नजिकिँदै गर्दा एक दिन उनी आफ्ना गुरु स्वामी रामकृष्ण परमहंसकी धर्मपत्नी माता शारदाबाट आशीर्वाद लिन गए । चरण स्पर्शपछि उनले करबद्ध हुँदै गुरुआमासित भने– माता, मलाई अमेरिकाको सिकागो सहरमा आयोजना हुने धर्म सम्मेलनमा भारतीय संस्कृतिमाथि बोल्न निम्तो आएको छ । मलाई हजुरको आशीर्वाद चाहियो ।
विवेकानन्दको अनुरोध सुनेपछि माता शारदाले भनिन्– आशीर्वादका लागि भोलि आउनू । म सबैभन्दा पहिले तिमी आशीर्वादका लागि योग्य छौ या छैनौ, त्यो हेर्छु । माताका आदेशपछि विवेकानन्द आफ्नो कुटितिर लागे । भोलिपल्ट उनी पुनः आशीर्वादका लागि माता शारदाकहाँ पुगे । उनी त्यतिखेर भान्छामा व्यस्त थिइन् । उनले विवेकानन्दलाई देखेपछि नजिकै एउटा कुनामा रहेको चक्कु देखाउँदै भनिन्– विवेक, तिमी मलाई सबैभन्दा पहिले उः त्यो चक्कु देऊ त ! विवेकानन्दले चक्कु उठाएर उनलाई दिए । चक्कु लिएपछि उनले धेरै ज्ञानगुनका कुरा सुनाउँदै विवेकानन्दलाई भनिन्– तिमीलाई मेरो आशीर्वाद छ, तिमी आफ्नो लक्ष्यमा सफल हुनेछौ ।
विवेकानन्दले माताको आशीर्वादको खास अर्थ बुझ्न सकेनन् । उनले प्रश्न गरे– माता, हजुरले मलाई आशीर्वाद दिनुअघि चक्कु किन माग्नुभएको थियो ? माता शारदाले भनिन्– म तिम्रो मन देख्न चाहन्थेँ । जब तिमीले चक्कु मेरातर्फ बढायौ, त्यतिखेर तिमीले चक्कुको धारवाला भाग आफूतिर राखेर बिँडतिरको सुरक्षित भागचाहिँ मलाई दियौ । यथार्थमा सन्त त्यही हो, जो स्वयं आपतमा परे पनि संसारको कल्याणमा जुटिरहन्छ । त्यसैले, तिमी अवश्यै सफल हुन्छौ । जाऊ लक्ष्य पूरा गरेर फर्क ।