सन् २०२४ मा हुँदै छ विश्वका ४० देशमा निर्वाचन

रुसदेखि दक्षिण अफ्रिका, भारतदेखि अमेरिकासम्म सन् २०२४ मा हुने आमनिर्वाचनको भूराजनीतिक प्रभाव हुनेछ

शुक्रबार, २७ पुष, २०८०
डिजिटल संस्करण

मतदानको यस अभूतपूर्व कुम्भमेला त्यसवेला हुँदै छ, जब उदारवादी लोकतन्त्रको परम्परागत स्वरूपले चीनका सी र रुसका पुटिनजस्ता अधिनायकवादी, हंगेरीका फिडेजजस्ता उग्रदक्षिणपन्थी पपुलिस्ट पार्टी र सैन्य ‘कु’देखि इस्लामिक अतिवादीहरूको आक्रमण सामना गरिरहेको छ । यो वर्ष वैश्विक उदारता निरन्तर १७औँ वर्ष खस्कियो । अमेरिकाको अनुगमन संस्था ‘फ्रिडम हाउस’ले आफ्नो प्रतिवेदन २०२३ मा निष्कर्ष निकाल्दै भनेको छ– ‘मस्कोको आक्रामक युद्धले युक्रेनमा मानव अधिकार हननका विनाशकारी रूप निम्त्याएको छ । नयाँ विद्रोह र निर्वाचित सरकारलाई अपदस्थ गर्ने अन्य प्रयासहरूले बुर्किनाफासो, ट्युनिसिया, पेरू र ब्राजिललाई अस्थिर बनायो । ...निरन्तर दमनले गिनीमा आधारभूत स्वतन्त्रताको क्षय गरिराखेको छ भने टर्की, म्यानमार र थाइल्यान्डमा स्वतन्त्रता संकुचित हुँदै गएको छ ।’ सो प्रतिवेदनले ३५ देशका राजनीतिक अधिकार र नागरिक स्वतन्त्रतामा ह्रास भएको औँल्याए पनि ३४ देशमा ती सूचकमा सुधार भएको बताएको छ । तथापि, अधिनायकवादी शासन पनि समस्यामुक्त भने छैनन् । ‘उच्च भ्रष्टाचार र योग्यताभन्दा राजनीतिक नियन्त्रणका लागि दलका मानिसको भर्तीले बेइजिङ, मस्को, काराकस वा तेहरानले प्रस्ताव गरेका अधिनायकवादी मोडेलको सीमालाई पर्दाफास गरिदिएको छ,’ फ्रिडम हाउसको प्रतिवेदनमा उल्लेख छ ।

लोकतन्त्रले प्रभावकारी रूपमा काम गर्न अत्यावश्यक अभिव्यक्ति स्वतन्त्रताको सिद्धान्त पनि आक्रमणमा परेका छन् । अधिकारकर्मी ज्याकब म्याचंगामा फरेन पोलिसी म्यागजिनमा एक आलेखमा तर्क गर्छन्, ‘उदार लोकतन्त्रले समेत विभिन्न खतराविरुद्ध लड्न प्रतिबन्धात्मक उपाय लागू गरेका छन् । जसमा घृणाजन्य भाषण, गलत सूचना र अतिवादी तथा सार्वजनिक अशान्तिलगायतका खतराहरू छन् ।’ ज्याकबको संकेत युरोपेली संघको बढ्दो अनलाइन नियमन र प्यालेस्टिनी समर्थनमा निस्कने प्रदर्शनहरूमाथिका रोकतर्फ छ । 

विश्वका यति धेरै देशमा लगभग एकै समयमा परेका निर्वाचनको समय–तालिकाले भूराजनीतिक र आर्थिक रूपले अस्थिर बन्दै गएको संसारलाई थप नाजुक बनाउन सक्छ । तथापि, इरानका मतदाताले मार्चमा हुने संसदीय चुनावमा देशका चरम महिलाद्वेषी मुल्लाहरूलाई हराए भने त्यो प्ररणादायी हुने थियो । तर, सत्ताले यसमा खेल खेलिसकेको छ । चुनावमा उठेका झन्डै २५ प्रतिशतभन्दा बढी विपक्षी उम्मेदवारहरूलाई पहिले नै अयोग्य घोषित गरिएको छ । जुन सन् २०२३ को अन्त्यतिर इजिप्टमा भएको राष्ट्रपतीय निर्वाचनमा पनि यस्तै देखिएको थियो ।

त्यहाँका पूर्व ‘कु’ नेता अब्देल फताह अल–सिसीले आफ्ना सबैभन्दा बलिया प्रतिद्वन्द्वीलाई राष्ट्रपतिको उम्मेदवार बन्न रोकेका थिए । कैयौँ इरानीले मतदान बहिष्कार गर्ने अपेक्षा गरिएको छ, जुन यसअघि डिसेम्बरमा हङकङमा सम्पन्न चुनावमा देखिएको थियो । ‘देशभक्तले मात्र’ सहभागी हुन पाउने भनिएको निर्वाचनमा जम्मा २७ प्रतिशत मतदाता सहभागी भए । जब कि यसअघिको निर्वाचनमा ७१ प्रतिशतले भाग लिएका थिए ।

सन् २०२४ को जाली निर्वाचनको प्रथम पुरस्कार सम्भवतः रुसको पोल्टामा जानेछ । र, यसमा बेलारुस नजिकले दोस्रो हुनेछ । पुटिनले उनका सम्भावित प्रतिद्वन्द्वीहरूलाई जेल हालेका छन् वा निर्वासित गरेका छन् । केहीको त सफाया गरिएको छ । पुटिनको पाँचौँ कार्यकालका लागि हुने चुनाव राजनीतिक प्रतिस्पर्धाभन्दा शाही राज्याभिषेकजस्तो हुनेछ । २५ वर्ष शासनमा रहे पनि पुटिनको लोकप्रियता अझै उच्च छ । धेरैले उनीबाहेक अरू नेता नचिनेकाले पनि उनीप्रतिको आकर्षक बढी भएको हुनुपर्छ । जार अलेक्ज्यान्डर द्वितीयले सन् १८६१ मा रुसमा दासप्रथा उन्मूलन गरेका थिए, जार पुटिन प्रथमले त्यस प्रक्रियालाई उल्टाउँदै छन् ।

केही चुनावमा भने साँच्चै नयाँ परिणाम निम्तिन सक्छ । अस्थिर मुलुक पाकिस्तान र बंगलादेश पनि यही वर्ष चुनावमा जाँदै छन् । वसन्त ऋतुमा विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश भारतमा हुने आमचुनावको मतपरिणाम पहिले नै अनुमान गर्न सकिने अवस्था छैन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकाल फर्किने आशालाई इन्डिया (इन्डियन नेसनल डेभलपमेन्टल इन्क्लुसिभ एलायन्स अर्थात् भारतीय राष्ट्रिय विकासजन्य समावेशी गठबन्धन) नामक २८ दलको विपक्षी गठबन्धनले निराश पार्न सक्छ ।

तथापि, मोदीको हिन्दू राष्ट्रवादी दल भारतीय जनता पार्टी (भाजपा) केही कुरामा अझै बलियो छ । देशको धेरै जनसंख्या (र, संसदीय सिट) रहेको उत्तरी र मध्यभागमा भाजपाको वर्चस्व कायमै छ । त्यस्तै, मोदी मतदाता तान्न सक्ने नेताका रूपमा मानिन्छन्, जुन क्षमता विपक्षी कांग्रेस पार्टीका नेता राहुल गान्धीमा त्यति देखिँदैन । यो सबलताका बाबजुद मोदीको निरंकुश प्रवृत्ति (जुन स्वतन्त्र पत्रकारितामाथिको अंकुश, विदेशमा विखण्डनकारीहरूको रहस्यमय मृत्यु आदिमा प्रतिबिम्बित हुन्छ)ले चुनावको निष्पक्षतामा शंका खडा हुनेछ । यदि मोदी पराजित भए भने त्यसले भारतलाई हातमा लिएर चीनलाई काउन्टर दिने अमेरिकी प्रयासलाई असर गर्न सक्छ ।

चीनले विद्रोही प्रान्त मान्ने स्वशासित क्षेत्र ताइवानमा यो वर्षको सुरुमै हुने चुनावले बाह्य दबाबमाझ प्रतिबद्ध जनतालाई वास्तविक विकल्प दिइए प्रजातन्त्रलाई कति मूल्यवान मानिन्छ भन्ने देखाउनेछ । यदि ताइवानलाई स्वतन्त्र बनाउनुपर्ने कुराको समर्थक ‘डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी’ले फेरि जित्यो भने आक्रोशित बेइजिङ उसको सैन्य कदम चाल्ने धम्कीमा अघि बढ्न सक्छ । यसले अमेरिका र उसका क्षेत्रीय सहयोगीहरूलाई यस क्षेत्रमा तान्नेछ ।

अर्को ठूलो परिवर्तन ल्याउन सक्ने चुनाव दक्षिण अफ्रिकामा हुँदै छ । नेल्सन मण्डेलाको नेतृत्वमा भएको आन्दोलनले देशको रंगभेदी शासन तोडिएदेखि सन् १९९४ बाट निरन्तर ३० वर्षसम्म शासनमा रहेको अफ्रिकन नेसनल कंग्रेस (एएनसी)को बहुमतको युग पहिलोपटक अन्त्य हुने देखिएको छ । उसलाई डेमोक्रेटिक एलायन्सले बलियो चुनौती दिएको छ । बहुमत गुमाए पनि एएनसीले वामपन्थी दल ‘इकोनोमिक फ्रिडम फाइटर्स’सँग गठबन्धन बनाएर सत्तामा टिकिरहने सम्भावना जीवित छ । तथापि, मतदाताले यस दललाई उसको वर्षौँको निर्लज्ज भ्रष्टाचार, नेतृत्वका विभिन्न काण्ड, देशको अपराध र बेरोजगारी घटाउन नसकेको कुराका लागि दण्डित गर्ने निश्चित छ । राजनीतिक अक्षमताका कारण दक्षिण अफ्रिकामा हिजोआज दैनिक ६ घन्टासम्म विद्युत् कटौती हुने गर्छ ।

लोकतन्त्रप्रतिको मोहभंगको बहस अन्यत्रजस्तै विश्वको सबैभन्दा तीव्र जनसंख्या वृद्धि भइरहेको अफ्रिकामा पनि जारी छ । इन्टरनेसनल क्राइसिस ग्रुपका कम्फर्ट इरो र मुरिथी मुटिगाले गत वर्षको अन्त्यमा एक अध्ययन सार्वजनिक गर्दै अगस्ट २०२० र नोभेम्बर २०२३ बीचमा अफ्रिकाका सात नेता तिनकै सेनाबाट बर्खास्त भएको औँल्याएका छन् । ती बर्खास्तगी सन् २००० देखि मुख्यत नाइजरदेखि सुडानबीचको ‘अस्थिरताको बेल्ट’मा भएका १३ सफल विद्रोहमध्येका थिए । अपदस्थ सबै नेता प्रजातान्त्रिक रूपमा निर्वाचित थिए ।

सबै ‘कु’हरू अनिवार्यतः अप्रजातान्त्रिक प्रकृतिका हुन्छन्, तर तिनका पछाडिका कारण भने अलग–अलग हुने गर्छन् । यिनमा शक्तिको दुरुपयोग, आर्थिक संकट, भ्रष्टाचार, धार्मिक अतिवाद (संघर्ष), चुनावी धाँधली र व्यक्तिगत प्रतिस्पर्धा समावेश छन् । यसै कारणले अफ्रिकामा पछिल्लो समय भएका केही ‘कु’हरू जस्तै सन् २०२१ मा मालीमा भएको ‘कु’लाई आममानिसले उल्लेख्य समर्थन गरेको देखियो । मानिसले एउटै शासन लामो समय परिवर्तन नहुनुभन्दा बरु हिंसात्मक रूपमै किन नहोस् शासन परिवर्तनलाई राम्रो मानेजस्तो देखिन्छ । अधिकांश अफ्रिकी ‘अझै पनि लोकतन्त्रमा विश्वास राख्छन्, तर उनीहरू बाहिर प्रजातन्त्रको मन्त्र जप्ने, तर प्रजातन्त्रका आधारभूत वाचा प्रदान गर्न असफल शासनबाट छुटकारा पाउन आतुर छन्,’ इरो र मुटिगाले लेखेका छन् । निश्चय नै यो निष्कर्षको अफ्रिकामा मात्र होइन, वैश्विक प्रासंगिकता पनि छ । यो भयो ‘कु’को प्रसंग । उता निर्वाचनको कुरा गर्दा, अफ्रिकाका अल्जेरिया, ट्युनिसिया, घाना, रुवाण्डा, नामिबिया, मोजाम्बिक, सेनेगल, टोगो र दक्षिण सुडान यो वर्ष चुनाव हुने अफ्रिकी देशहरू हुन् ।

युद्ध र द्वन्द्वले लोकतान्त्रिक शासन सञ्चालन गर्ने र टिकाउने क्षमतामा बाधा पु¥याउँछ । उदाहरणका लागि, युक्रेनमा यही वसन्तमा वर्तमान राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीको पाँचवर्षे कार्यकाल सकिँदै छ र त्यहाँ निर्वाचन हुनुपर्ने हो । तर, देश युद्धमा रहेकाले त्यहाँ सैन्य कानुन लागू भएर निर्वाचनहरू निलम्बित छन् । जनताको आक्रोश र असन्तुष्टि व्यक्त गर्ने सुरक्षित माध्यम मानिने निर्वाचन उचित अभ्यास हुने थियो भलै पुटिनले यसलाई बमबारी गरेका किन नहुन् । यसले प्रजातन्त्र निमोठिन अस्वीकार गर्छ भनेर देखाउन सकिने थियो ।

गाजाको युद्ध जारी रह्यो भने इजरायल पनि छिट्टै यस्तै स्थितिमा पर्न सक्छ । मतसर्वेक्षणहरूले बहुमत इजरायलीहरू नेतन्याहुको उग्र दक्षिणपन्थी गठबन्धनलाई हटाउन चाहन्छन् । यो गठबन्धन सरकार अक्टोबर ७ को आक्रमणलाई रोक्न असफल भएको तिनको बुझाइ छ । इजरायलमा यसै वर्ष चुनाव हुने पूर्वनिर्धारित समय–तालिका छैन । तर, सरकारसँग बढ्दो असन्तुष्टिले यही वर्ष निर्वाचन गराउन दबाब बढ्ने सम्भावना उच्च छ ।

मतसर्वेक्षणहरूले पश्चिमका अधिकांश देश अर्थात् युरोप र अमेरिकामा लोकतन्त्रको वर्तमान कार्यप्रणालीप्रति उच्च असन्तुष्टि देखाएका छन् । जब कि यही क्षेत्रले आफूलाई लोकतन्त्रको गृहभूमिको रूपमा हेर्छ । यस भेगमा अफ्रिकामा जस्तै, लोकतन्त्र आफैँमा समस्या होइन, यसलाई लागू गर्ने र अभ्यास गर्ने तौरतरिकामा समस्या छ । हालै इप्सोसले गरेको मतसर्वेक्षणमा पश्चिममा लोकतान्त्रिक प्रणालीले देशका धनी र शक्तिशालीको हित गर्छ र बाँकीलाई बेवास्ता गर्छ भन्ने व्यापक विश्वास फेला पारेको छ । झन्डै ७० प्रतिशत अमेरिकीले हालैका वर्षहरूमा प्रजातन्त्रको अवस्था खस्किएको बताएका छन् । फ्रान्समा यो हिस्सा ७३ प्रतिशत पाइएको छ । उता बेलायतका १० मध्ये करिब ६ जनाले पाँच वर्षअघिको तुलनामा लोकतन्त्र खस्केको विश्वास व्यक्त गरेका थिए । क्रोएसिया, इटाली, पोल्यान्ड र स्विडेनसहित सर्वेक्षण गरिएका एकबाहेक सबै देशका उत्तरदाताले ‘आमूल परिवर्तन’ आवश्यक भएको बताएका छन् ।

परिवर्तन होला–नहोला, तर युरोपमा यो वर्ष अस्ट्रिया, बेल्जियम, क्रोएसिया र फिनल्यान्डका साथै जुनमा युरोपेली संसद्का लागि चुनाव हुँदै छ । यी चुनावमा युरोपमा सधैँ कायम हुने डर राष्ट्रवादी–पपुलिस्ट, आप्रवासीविरोधी, भिन्न जातिप्रति नकारात्मक धारणा राख्ने उग्रदक्षिणपन्थी पार्टीले थप प्रगति गर्लान् भन्ने देखिन्छ । इटाली, नेदरल्यान्ड्स र स्लोभाकियामा पछिल्लो समय त्यस्तो पार्टीले मत बढाएकाले पनि यस्तो डर बढेको हो । बेलायतको समस्या अलि फरक छ । लामो लोकतान्त्रिक परम्परामाथि गर्व गर्ने भए पनि बेलायतले एक वर्षभन्दा कम समयमा दुई अनिर्वाचित कन्जरभेटिभ प्रधानमन्त्री सहेको छ । र, बेलायतको अर्को आमचुनाव सन् २०२४ मै हुने पनि निश्चित छैन । मेक्सिकोको जुनमा हुने राष्ट्रपतिको चुनावले धेरैको ध्यान तान्नेछ । त्यहाँका दुवै उम्मेदवार महिला भएकाले देशले पहिलो महिला राष्ट्रपति पाउने निश्चित छ ।

वर्षको अन्त्यतिर, सबैको नजर अमेरिकामा केन्द्रित हुनेछ, जहाँ दुई वयोवृद्ध पुरुष उम्मेदवार राष्ट्रपति पदका लागि नोभेम्बरमा भिड्ने सम्भावना बढ्दै गएको छ ।

राष्ट्रपति जो बाइडेनले विश्वलाई लोकतान्त्रिक र निरंकुश शिविरबीचमा सपाट विभाजन गर्छन् । यी दुई शिविरबीचको संघर्ष यस युगको पहिचान भएको उनको दाबी छ । त्यसो भए यदि उनले आफ्ना सम्भावित रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पलाई हराउन असफल भए भने पुटिन र सीदेखि विश्वका धेरैले लोकतन्त्र अवसाननजिक पुगेको निष्कर्ष निकाल्न सक्छन् । आखिरमा ट्रम्प पुनः निर्वाचित भएमा तानाशाहीजस्तो प्रवृत्ति नदेखाउने भने पनि उनका बोली–व्यवहारले त्यस्तै संकेत देखाएको छ । ट्रम्पले जिते भने उनले अघिल्लोपटक हारेपछि व्यहोरका मुद्दा–मामिलाविरुद्ध देखाउन सक्ने बदलाको त्रासदीले अनिवार्य रूपमा अन्तर्राष्ट्रिय व्यवस्थालाई स्थायी रूपमा अधिनायकवाद र तानाशाहीतर्फ ढल्काउन सक्छ । यदि अमेरिकाले प्रतिरोध गर्न छोड्यो भने, लोकतन्त्र पक्कै ओइलाएर मर्नेछ । (विदेश मामिला टिप्पणीकार टिस्डल द गार्जियनका विदेश सम्पादक हुन्)

सम्पादकको रोजाइ

सुझावित समाचार