दैलेखको दुल्लु नगरपालिकानिवासी मीना महतलाई खुसीको कुनै सीमा छैन । जन्म दिएका सन्तानले संसार देख्न थालेपछि उनलाई आइलागेको दुःखको पहाड र पिरको भारी केही कम भएको छ । उनले खुसी हुँदै भनिन्, ‘भगवानले दुःख मात्र होइन, सुख पनि दिन जानेका रहेछन् । मेरा छोराहरूलाई संसार देखाउने डाक्टर धन्य छन् । अब मेरा पनि सुखका दिन फर्किए ।’ अहिले उनका आठ वर्षीय जेठो छोरा योगेन्द्र र चार वर्षीय छोरा प्रकाश विद्यालय जाने तयारी गर्दै छन् ।
मीनालाई चरम आर्थिक अभाव हुँदा छोराहरूलाई अस्पताल पुर्याउन त परै जाओस् बिहान–बेलुका छाक टार्न पनि धौधौ थियो । ‘बाबुहरूलाई विद्यालय पठाउन त परै जाओस्, घरमा हेरचाह गर्न अर्को सहयोगी राख्नुपर्ने अवस्था थियो,’ उनले भनिन्, ‘छाक टार्न आफैँ कृषि कर्ममा जुट्नुपर्दथ्यो । आफ्नो कमाइले छाक टार्न धौधौ पर्छ । उपचार गर्न कहाँबाट पैसा ल्याउनु । उपचार गर्ने पैसा नभएर छोराहरूलाई अस्पताल लान सकेकी थिइनँ ।’
नेपाल नेत्रज्योति संघले दातृ निकाय सिबिएमको आर्थिक सहयोगमा कर्णालीमा सञ्चालित एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमका प्राविधिकले मीनाको दुःख पत्ता लगाएका थिए । प्राविधिक सीमाकुमारी शाहीलगायतको टोलीद्वारा प्रारम्भिक चरणमा योगेन्द्र र प्रकाशको आँखा परीक्षण गर्दा जन्मजात मोतिबिन्दु भएको पत्ता लगाएका थिए ।
ती प्राविधिक कर्मचारीले शल्यक्रियामार्फत आँखाको दृष्टि फर्किन सक्ने जनाउँदै संघद्वारा सञ्चालित विराटनगर आँखा अस्पतालमा उपचारका लागि तत्काल जान ‘रिफर’ गरिदिएका थिए । मीनाले भनिन्, ‘मैले मेरो दुःखका बेथा सरहरूलाई सुनाएँ । पैसा नभएर छोराहरूलाई उपचार गर्न अस्पताल लान नसकेको कुराहरू भनेँ। उहाँहरूले सहयोग गर्ने बताउनुभयाे। छोराहरूलाई लिएर आँखा अस्पताल गएँ । चिकित्सकले जन्मजात मोतिविन्दु भएकाले शल्यक्रिया गर्नुपर्छ भने ।’
अस्पतालले मीनाको आर्थिक अवस्था कमजोर रहेकाले बिरामीलाई खाने, बस्ने र उपचारका लागि लाग्ने खर्च निःशुल्क गरिदिएको थियो । उनले भनिन्, ‘चिकित्सकले छोराहरूको संसार हेर्ने दृष्टि फर्काइदिए । उज्यालो संसार देख्न सफल भए ।’ एक महिनाकाे अवधिमा दुई दाजुभाइको दुईवटै आँखाको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको अस्पतालले जनाएको छ । शल्यक्रियामा चिकित्सक पवन श्रेष्ठलगायतका टोली संलग्न थियाे ।
मीनाले भनिन्, ‘परिवारमा खुसी फर्किएको छ। आफ्ना छोराहरू पनि अरू बच्चाहरूजस्तै विद्यालय जान सक्ने हुँदा मन रमाएको छ । आफ्नो दैनिक गतिविधि अन्यको सहायताविना गर्न सक्ने भएका छन् । आफ्नो बच्चाहरूलाई उज्यालो संसार देखाएर नयाँ जीवन दिन सहयोग गर्ने सबैलाई धन्यवाद छ । भगवान् मैले सोचेजस्तो निष्ठुरी पनि रैनछन् । मेरा छोराहरूलाई उज्यालो संसार देखाइदिनुहुने डाक्टर सापहरूलाई धेरै धेरै धन्यवाद ।’
विगतमा उनी छिमेकीका नानीहरू पढ्न विद्यालय गएका देख्दा, रमाएर खेल्दा भगवानले कुनै जन्ममा गरेको कर्मको सजाय दिएको होला भनेर चित्त बुझाउने गर्थिन् । उनी आफ्नो छोराहरू पनि अरू बच्चजस्तै पढ्ने, लेख्ने र खेल्ने गरेको हेर्ने ठूलो चाहना राख्थिन् । घरनजिकको विद्यालयसम्म पनि जान सकेका थिएनन् । उनले भनिन्, ‘कलिलै उमेरमा आफूभन्दा २६ वर्ष जेठो व्यक्तिसँग विवाह भयो । गरिबी, त्यसमाथि अमिल्दो उमेरका श्रीमान् ।’
उनले भनिन्, ‘छोराहरू हुर्काउन, घरधन्दा, खेतबारीदेखि वस्तुभाउको स्याहारसुसार गर्नमै मेरा दिनहरू बित्दै गए । बच्चा बिस्तारै हुर्किँदै गए । हुर्किँदै जाँदा रोग लागेको पत्तै भएन । श्रीमानलाई बुढ्यौलीले पनि छुँदै गयो । श्रीमान्ले कमाउन नसकेपछि घरबार धान्नेदेखि छाक टार्नेसम्मको जोहो मेरै काँधमा आयो । उपचार गर्नभन्दा परिवार पाल्न ध्यान दिनै पर्याे ।’
संघका पैरवी अधिकृत कृष्ण भट्टराईले संघअन्तर्गत सञ्चालित आँखा अस्पतालले विपन्न आँखा रोगीको निःशुल्क उपचार भइराखेको जानकारी दिए ।